सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लगानी सम्मेलन गर्न सम्झौता

२०८० कार्तिक ४, ०६:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा लगानी सम्मेलन गर्न सम्झौता भएको छ। यसका लागि प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रबर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो।

शनिबार महासंघको कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका गरेका छन्। समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिम प्रदेशमा लगानी प्रबर्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पु¥याउन सहकार्य गर्ने उल्लेख छ।

प्रदेश सरकार र महासंघको संयुक्त आयोजनामा आगामी २०८० फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले महासंघसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उनले सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानीको आउनेमा विश्वास व्यक्त गरेका हुन्।

सो अवसरमा उनले प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिबद्धता व्यक्त गरेका थिए। महासंघका अध्यक्ष ढकालले सुदूरपश्चिम लगानी सम्मेलन सफल पार्नका लागि महासंघका सम्पूर्ण संयन्त्रले काम गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष ढकालले भारत र चीनमा ‘बिजनेस समिट’ आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए।

महासंघको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो। सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो। यसले प्रदेशमा आर्थिक विकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताए।
सुदूरपश्चिम प्रदेश सरकारका अर्थ तथा योजनामन्त्री नरेश शाहीले सुदूरपश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताए।

आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उनले बताए। कार्यक्रममा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासंघ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि धारणा राखेका थिए। सम्मेलन आयोजनाका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मुल समिति गठन गरिसकिएको छ। सम्मेलन आयोजना गर्न ५० लाख बजेट समेत छुट्याएको छ।

कमेन्ट लोड गर्नुस