सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एसिया कप यू–१९ एसिसीमा छनोट

२०८० कार्तिक ४, ०४:१७ खबर संवाददाता

यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा शनिवार भएको सेमिफाइनलमा नेपालले जापानलाई डिएल पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो। लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो। जसमा जापानले २२ ओभरमा जितका लागि एक सय ८७ रनको लक्ष्य पाएको थियो। जवाफमा जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो।

जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभास भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे। नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे। उनले ७० बलमा १० चौका र २ छक्काको मद्दतमा ७९ रन बनाएका हुन्। त्यस्तै, दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए। आकाश त्रिपाठीले ३५ रन बनाए भने अर्जुन कुमाल १० तथा कप्तान देव खनालले ८ रन जोडेका थिए। अब नेपालले यही कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ।

कमेन्ट लोड गर्नुस