दसैं मनाउन घर फर्किनेहरुको गौरीफन्टा र गड्डाचौकी नाकामा घुइँचो

धनगढीः रोजगारीका लागि भारतका विभिन्न सहरमा गएकाहरु धमाधम स्वदेश फर्कन थालेका छन्। बडा दशै सुरु भएसँगै यतिबेला सीमा नाकाहरुमा भारतका विभिन्न सहरबाट घर फर्किने सुदूरपश्चिमेलीहरुको घुइँचो छ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका जिल्लाहरु कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको जुलाघाट, दार्चुलाको पुलघाट र जोलाजिमी सीमा नाकामा दुई साताअघिदेखि नै घुइँचो छ। सबैभन्दा बढी गौरीफन्टा र गड्डाचौकी सीमा नाकामा दशै मनाउन घर फर्कनेहरु घुइँचो बढेको छ।
यी नाकाहरुबाट पछिल्लो एक साताको अवधिमा मात्र करिब १० हजार नेपाली दशै मनाउन स्वदेश फर्किएका हुन्। सबैभन्दा बढी कैलालीको गौरीफन्टा तथा कञ्चनपुरको गड्डाचौकी नाका भएर स्वदेश फर्कनेको संख्या उच्च देखिएको छ। सीमा क्षेत्रमा विगतका वर्षजस्तो सास्ती नभए पनि अनावश्यक रुपमा सोधपुछ तथा खानतलासी हुने गरेको शनिवार भारतको नयाँ दिल्लीबाट दशै मनाउन गौरीफन्टा नाकामा भेटिएका कृष्णराज खड्काले गुनासो गरे।
पारी भारतीय र वारी नेपाली सुरक्षाकर्मीले अनावश्यक खानतलासी गरेको उनले बताए। गौरिफन्टा सीमा नाकाबाट दैनिक एक हजार र गड्डाचौकी नाकाबाट पनि सोहि संख्यामा स्वदेश फर्किरहेको सशस्त्र प्रहरी बलको तथ्यांक छ। दसैं मनाएर धेरैजसो सुदूरपश्चिमेलीहरु फेरि भारतमै फर्किन्छन्।
दशै मनाउन यति बेला परिवारसहित रोजगारीका लागि भारतका विभिन्न सहर पसेकाहरु धमाधम घर फर्कने क्रम जारी छ। चाडपर्वको समयमा सुदूरपश्चिमबाट बाहिरने भन्दा भित्रिनेको संख्या बढी देखिएको सीमा सशस्त्र प्रहरीका अधिकृतहरुले बताएका छन्।
.gif)


