सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको जनसंख्या २७ लाख, कार्यरत स्थायी डाक्टर ८ जना मात्रै!

२०८० कार्तिक २, ०२:४९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका सरकारी अस्पतालमा स्वास्थ्य जनशक्तिको चरम अभाव देखिएको छ। सेती प्रादेशिक अस्पतालमा बिरामीलाई आवश्यक परेका बेला भिडियो एक्सरे सेवा पाउनै मुश्किल हुने गरेको छ।

भिडियो एक्सरे गर्नुपर्ने बिरामीको चापलाई नियन्त्रण गर्न कोटा प्रणाली लागू गरिएको छ। सेतीमा ४ सय रुपैयाँमा हुने भिडियो एक्सरे निजीमा १ हजार २ सय रुपैयाँ लाग्ने गरेको छ। सेतीमा भिडियो एक्सरे सेवा दिने एक जना रेडियोलोजिस्टको मात्रै स्थायी दरबन्दी छ। डाक्टर निरज अर्याल दरबन्दीका रेडियोलोजिस्ट हुन्।

तर, डाक्टर अर्यालकै पहलमा उनलाई सामाजिक विकास मन्त्रालयले २०७९ भदौ ३० देखि मन्त्रालय मातहतकै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रमुख बनाएर पठाएको छ। जबकि, उनको नेपाल स्वास्थ्य सेवा ऐन, २०५५ को सेवा समूहका लागि चाहिने योग्यताको मापदण्ड मिल्दैन। दरबन्दी सेतीमै भएकाले अहिले पनि पारिश्रमिक सेतीबाटै बुझ्ने गरेका डाक्टर अर्याल आपूर्ति केन्द्रमा गएपछि सेतीमा उनी नेतृत्वको रेडियोलोजी विभागको सेवा प्रभावित बन्न पुगेको हो।

सामाजिक विकास मन्त्रालयले नै सेतीमा कार्यरत डाक्टर जगदीश जोशीलाई २०७८ चैत २५ देखि सुदूरपश्चिम स्वास्थ्य निर्देशकको जिम्मेवारीमा खटाएको छ। आकस्मिक उपचार विशेषज्ञ डाक्टर जोशी सेतीका लागि अत्यावश्यक थिए। तर, डाक्टर. जोशीकै प्रयासमा उनलाई निमित्त निर्देशक पदमा पठाइएको छ। हाल पारिश्रमिक सेतीबाटै बुझ्दै आएका डाक्टर जोशीको पनि नेपाल स्वास्थ्य सेवा ऐन, २०५५ को सेवा समूहका लागि चाहिने योग्यताको मापदण्ड मिल्दैन।

निर्देशनालय, आपूर्ति केन्द्रजस्ता आर्थिक कारोबार हुने ठाउँमा जान कर्मचारीको आफ्नो जोडसँगै राजनीतिक तहबाट पनि चासो रहने गरेको छ। आपूर्ति केन्द्रले प्रदेश मातहतका सरकारी स्वास्थ्य संस्थाका लागि वार्षिक करोडौंको उपकरण र औषधि खरिद तथा वितरण गर्छ। सेती प्रादेशिक अस्पतालबाहेक प्रदेशभरका अस्पतालमा दरबन्दीअनुरूप पदपूर्ति छैन।

मन्त्रालयमा महाशाखादेखि जिल्ला तहका कार्यालय निमित्तका भरमा छन्। प्रदेश सरकारअन्तर्गत सेती र महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, ६ वटा जिल्ला अस्पताल र ९ वटा अन्य अस्पताल सञ्चालित छन्। पछिल्लो जनगणना २०७८ अनुसार सुदूरपश्चिमको जनसंख्या २७ लाख ११ हजार २ सय ५० छ। यो जनसंख्यालाई उपचार गर्न प्रदेश सरकारसँग स्थायी दरबन्दीका ८ जना चिकित्सक मात्रै उपलब्ध छन्।

कमेन्ट लोड गर्नुस