सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका दूरदराजमा प्रहरी समस्यामा छन् : मुख्यमन्त्री शाह

२०८० असोज ३०, ०८:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका विभिन्न ठाउँका प्रहरी समस्यामा रहेका मुख्यमन्त्री कमलबहादुर शाहीले बताएका छन्।

६८ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेशका दूरदराजमा प्रहरी नै समस्यामा रहेको बताए। विविध समस्याका बाबजुद नेपाल प्रहरी जनताको सुरक्षामा खटिरहेको उनले बताए।

प्रदेशको दूरदराजमा रहेका प्रहरीको व्यवस्थापनमा प्रदेश सरकारसहित सरोकारवाला सबै निकाय चुकेको उनको भनाइ थियो। शान्ति, सुरक्षा कायमका लागि कुनाकन्दरामा खटेका प्रहरीले विभिन्न समस्या भोगिरहेको मुख्यमन्त्री शाहले बताए।

प्रदेश सरकारले स्रोत, साधनले भ्याएसम्म प्रहरीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहले स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै नेपाल प्रहरी यो अवस्थासम्म आइपुगेको बताएका छन्। नेपाल प्रहरी अविचलित भएर नेपाली जनतालाई शान्ति, सुरक्षा दिन सदैव तत्पर रहेको मुख्यमन्त्रीको भनाइ छ। ‘विगतमा धेरै समस्या थिए र अहिले पनि भौतिक, प्राविधिकलगायतका समस्या छन। समस्याका बाबजुद पनि नेपाल प्रहरी जनताको सुरक्षाका लागि अविचलित भएर काम गरिरहेको छ ।’ उनले भने।

नेपाल प्रहरी आफ्नो स्थापनाकालदेखि नै जनताको जिउज्यानको सुरक्षाका लागि अहोरात्र खटिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताएका छन्। उनले अहिले चाडपर्व आएकाले चाडपर्वलक्षित सुरक्षा व्यवस्था मिलाइएको बताए।

दिवसको अवसरमा अमर प्रहरीलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। यसैगरी, अमर प्रहरीका परिवारसहित विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ।

 

कमेन्ट लोड गर्नुस