सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजबाट संघीय संसद्को बजेट अधिवेशन

। फोटो स्रोत ।
२०७६ वैशाख १६, १०:३२ खबर संवाददाता

संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको बजेट (वर्षे)अधिवेशन आजबाट सुरु हुन लागेको हो। संघीय संसद सचिवालयले सोमबार अपराह्न ४ बजेका लागि संसदको चौथो अधिवेशनको पहिलो बैठक बोलाइएको जनाएको छ।

वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ। संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ। यस वर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ। प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ। राष्ट्रियसभामा आठ विधेयक प्रस्तुतिको तयारी छ। चार विधेयक राष्ट्रियसभामै उत्पन्न भएका हुन्। सभामै उत्पन्न भएका विधेयकमा विज्ञापन नियमन, ज्येष्ठ नागरिक (पहिलो संशोधन), नागरिक लगानी कोष र प्रशासकीय अदालतसम्बन्धी विधेयक रहेको सचिवालयले जनाएको छ।
    

कमेन्ट लोड गर्नुस