सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ग्रीन क्लिन’ धनगढीद्वारा खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन माग

२०८० असोज २४, ०६:३३ खबर संवाददाता

धनगढीः ‘ग्रीन क्लिन’ धनगढीले उपमहानगर क्षेत्रमा खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेको छ।

ग्रीन क्लिन धनगढीका प्रतिनिधिहरुले बुधबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाईं अपिल पत्र बुझाउँदै खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेका हुन्। पछिल्लो समय धनगढीमा अतिथी सत्कार, सभा, सम्मेलन, गोष्ठी लगायत साना ठूला कार्यक्रमहरुमा खादा तथा ब्याचको प्रयोग अत्याधिक हुन थालेपछि ठूलो पुँजी बाहिर गईरहेको भन्दै ग्रीन क्लिनले खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाइदिन अपिल गरेका हुन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७३ सालमै आफ्नो मातहतका कार्यालयमा खादा तथा ब्याच प्रयोग नगर्न निर्देशन जारी गरिसकेको उदाहरण दिदैँ ग्रीन क्लिनले खादा तथा ब्याचको स्थानमा सबैले स्थानीय रुपमा उत्पादन भएको फुलको प्रयोग गरिदिन आग्रह गरेको छ। त्यसले स्थानीय कृषकहरुलाई समेत टेवा पुग्ने विश्वास ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपानेको छ।

अपिल पत्र बुझ्दै मेयर हमालले पर्यावरणमा असर पुगाउने खादा तथा ब्याच प्रयोगमा प्रतिबन्ध लगाउँदै स्थानीय उत्पादनलाईं टेवा पुगाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्। उनले केही धर्मालम्बीहरुले खादालाई विशेष रुपमा लिने भएकाले उहाँहरुले भने आफ्नो धार्मिक कार्यक्रममा प्रयोग गर्नमा कुनै रोकावट नगर्ने बताए। अपिल पत्र बुझाउँन धनगढीमा रहेका ग्रीन क्लब अफ एसपीएसहित विभिन्न स्कुलका ग्रीन भोलिन्टियर्सहरुको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस