धनगढीका अधिकांश व्यवसायीक फर्महरु नवीकरण र दर्ता बिना नै सञ्चालनमा
धनगढीः धनगढी उपमहानगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई तीव्र पारेको छ। उपमहानगरको बजार अनुगमन टोलीले हिजो (मंगलबार) मात्र वडा नम्बर १ र ८ मा ‘मोडेल क्लस्टर वाइज’ विषय क्षेत्रगत अन्तर्गत विभिन्न २२ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको हो।
अनुगमनपछि तयार पारिएको प्रतिवेदन अनुसार अधिकांश व्यवसायीक फर्ममा राखिएका सामग्रीमा कैफियत (प्रयोग र उपभोगयोग्य नभएको) पाइएको छ। साथै प्रायः व्यवसायीक फर्महरु नवीकरण र दर्ता नै नगरेर सञ्चालनमा आएको समेत फेला परेको छ।
बजार अनुगमनमा न्यू मोनिका ट्रेड लिंकमा सडेका स्याउ र केरा नष्ट गर्ने काम भएको छ।
आरसी ट्रेड एण्ड सप्लार्यमा म्याद सकिएका सामग्रीसँगै वडा कार्यालयमा व्यवसायी नवीकरण नभएको पाइएको छ। उपमहानगरको अनुगमन टोलीले न्यू शिर्षक स्टोरबाट म्याद सकिएका कोकाकोला लगायत पेय पदार्थ फेला पारेर नष्ट गर्ने काम गरेको छ। साथै वडा कार्यालयबाट व्यवसाय नवीकरण गर्न समेत सुझाव दिइएको छ। त्यस्तै नमिता सप्लार्यलाई ७ दिनभित्र व्यवसाय वडा कार्यालयमा दर्ता गर्न सल्लाह दिने काम भएको छ।
न्यु फुलबारी किराना एण्ड फलफुल पसलबाट म्याद सकिएका पेय पदार्थ नष्ट गरिनुका साथै वडा कार्यालयमा व्यवसाय दर्ता गर्न उपमहानगरको बजार अनुगमन टोलीले सुझाव दिएको छ। मिना होटललाई सरसफाईमा ध्यान दिनुका साथै वडा कार्यालयमा व्यवसाय दर्ता नवीकरण गर्न सल्लाह दिइएको छ। त्यस्तै गोर्खा होटललाई रातो रंग प्रयोग नगर्न र भाडाको १० प्रतिशत वहाल कर वडा कार्यालयमा बुझाउन लिखत सल्लाह दिने काम गरेको छ।
मन्जित होटल एण्ड मःमः सेन्टरलाई बहाल कर बुझाउन लिखित सल्लाहसँगै सरकारसफाईमा ध्यान दिन आग्रह गरिएको छ। जेनिस एण्ड जेनिसा ट्रेडर्स, बझाङ मालुमेला होटल र न्यु डाँडाबाग स्टोरलाई भने ७ दिनभित्र व्यवसाय दर्ता वडा कार्यालयमा गराउन सचेत गराइएको छ।
त्यस्तै बजार अनुगमन टोलीले पुजा मःमः सेन्टरलाई ७ दिनभित्र व्यवसाय नवीकरण र मुकेश किराना पसललाई ७ दिनभित्र व्यवसाय दर्ता गराउन सुझाव दिएको छ। काजल होटललाई व्यवसायी नवीकरण, न्यु गिल्लेश्वरी जनरल स्टोरलाई ७ दिनभित्र व्यवसाय दर्ता, लोकेन्द्र किराना पसललाई व्यवसाय नवीकरण, कठरिया मेडिकल हललाई दुई दिनभित्र उपमहानगरको स्वास्थ्य शाखामा क्लिनिक दर्ता गर्न भनिएको छ।
त्यस्तै मयुर डेरी उद्योगलाई व्यवसायी नवीकरण, जय श्री जगन्नाथ दुध डेरी उद्योगलाई ७ दिनभित्र नवीकरण, न्यु मालिकार्जुन स्टोरलाई ७ दिनभित्र दर्ता, संघारी ग्रुपलाई ७ दिनभित्र व्यवसाय नवीकरण, न्यु ज्योति काव्या किराना पसललाई ७ दिनभित्र व्यवसाय दर्ता र बालाजी आइस क्रिम उद्योगलाई व्यवसाय नवीकरण गर्न भनिएको छ। साथै उक्त उद्योगले उत्पादन मिति र म्याद सकिने मिति भएको लेवल नलगाई विक्रीवितरण गरेको पाइएपछि दुई हजार जरिवाना समेत असुल गराइएको छ।