सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस नेता बडुवाललाई लेटरप्याड दुरुपयोगको आरोप, कारबाहीको तयारी

२०८० असोज २४, ०२:२० खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस कैलालीका उपसभापति भीमबहादुर बडुवाललाई पार्टीको लेटरप्याड दुरुपयोगको आरोप लगाइएको छ। उनले लोकराज पाण्डे (ओगो)लाई पार्टीले कारबाही गरेको समयमा लेटरप्याडको दुरुपयोग गरेको आरोप लागेको हो। उनलाई स्पस्टीकरण सोधिएको छ। काँग्रेसका उच्च तहका नेताको दबाबमा स्पस्टीकरण सोधिएको दाबी बडुवालको छ।

प्रदेश अनुशासन समितिका संयोजक लोकराज अवस्थीले बडुवाललाई स्पस्टीकरण सोधेका हुन्। उनले जवाफमा लोकराज पाण्डेलाई कारबाही गर्नु गलत रहेको सिद्ध भएको जवाफ दिएका छन्। काँग्रेसले पाण्डेलाई गरेको कारबाही पछि फिर्ता लिएको थियो।

बडुवाललाई कारबाहीको सिफारीसका लागि सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, जिल्ला सभापति नारायण भट्ट, प्रदेश अनुशासन समितिका संयोजक लोकराज अवस्थी र समितिका सदस्यहरूको धनगढीमा पटक–पटक बैठक बस्दै आएको छ।

काँग्रेस युवा नेता लोकराज पाण्डे ‘आगो’ र सुरतबहादुर कार्कीलाई कारबाही गरिएको विषयमा उप–सभापति बडूवालले पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै कारबाहीको सिफारीसका लागि बैठक बस्ने गरेको छ। गत साउन २५ गते काँग्रेस कैलालीको लेटर प्याडमा सूचना जारी गर्दै बडूवालले नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नारायणदत्त भट्टले साउन २२ गते दुवै नेतालाई कारबाही गरिएको पत्र विधिसम्मत नभएको बताएका थिए।

यसअघि काँग्रेस कैलालीको लेटर प्याडमा भट्टद्वारा जारी पत्रमा नेताद्वय पाण्डे र कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको थियो। पछि प्रतिवाद गर्दै उपसभापति बडुवालले कारबाही विधिसम्मत नरहेको दाबी गरेका थिए। पछि उनीहरुको कारबाही रद्द गरिएको थियो।

कमेन्ट लोड गर्नुस