धनगढीमा कार्यालय नै खोलेर ५६ जनाबाट १० लाख ठगी, सञ्चालक फरार

धनगढीः कैलालीको धनगढीमा कार्यालय नै खोलेर रोजगारी दिने नाममा ५६ जनालाई ठगी गरेको विषय बाहिर आएको छ। सुदूरपश्चिमका विभिन्न वडामा रोजगारी दिने भन्दै ५६ जनाबाट १० लाख ठगी गरेको विषय सार्वजनिक भएको हो।
सुदूरपश्चिम प्रदेशका ५६ जनाको १० लाख रुपैयाँ ठगेर ती कार्यालय सञ्चालक भने अहिले फरार छन्। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा उद्यमी सहयोग तथा तालिम केन्द्र प्रालि सञ्चालन गरेर ५६ जनालाई ठग्ने काम भएको छ। केन्द्रका सञ्चालक अमरसिंह धामीले रोजगारी दिने भन्दै ५६ जनाबाट १० लाख रुपैयाँ सङ्कलन गरेका हुन्। उनी अहिले फरार छन्।
सुदूरपश्चिम प्रदेशका प्रत्येक वडामा कर्मचारी राख्ने भन्दै केन्द्रले विज्ञापन गरेको थियो। विज्ञापनका आधारमा कर्मचारी भर्नाको प्रक्रिया असार ४ गतेबाट सुरु भएको थियो। कर्मचारीका लागि पोसाक, ल्यापटप र कर्मचारीको बीमा गर्ने भन्दै रकम सङ्कलन गरिएको हो। यहाँका ५६ जनाबाट झन्डै १० लाख रुपैयाँ सङ्कलन गरेका केन्द्र सञ्चालक धामी अहिले फरार छन्। उनी २०८० असोज ९ गतेबाट सम्पर्कमा नआएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कैलाली निवेदन नै दिएका छन्। पीडितहरूले उद्यमी सहयोग तथा तालिम केन्द्र प्रालिका सञ्चालक धामीले ठगेको भन्दै निवेदन दिएका हुन्।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी आइपुगेका उनीहरूले केन्द्रमा रोजगारीका लागि फारम नै भरेर अन्तर्वार्तासमेत दिएका थिए। तर अहिले उनै सञ्चालक फरार हुँदा ठगिएको चाल पीडितले पाएका हुन्। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ धामीको स्थायी ठेगाना हो। उनी डोटीको बुडरमा बस्दै आएका थिए।
धामीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, कैलालीले गत शुक्रवार जिल्ला प्रहरी कार्यालय, कैलालीलाई निर्देशन दिएको छ। पीडितहरू शुक्रवार प्रशासनमा पुगेका थिए। तर पीडितको रकम लिएर फरार भएका धामीलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा भने लिन सकेको छैन्।
.gif)


