सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सहरी सडक निर्माणको सम्झौता अवधि सकिँदै, काम अधुरै

२०८० असोज २४, ११:५५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा सहरी सडक निर्माणको सम्झौता अवधि सकिन लागेको छ। सम्झौता अवधि सकिन तीन साता पनि बाँकी छैन्।

तर १५ प्रतिशत काम अधुरै छ। क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत दोस्रो पटक थपिएको म्याद सकिन लागेको हो। संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका अनुसार ती सडकको भौतिक प्रगति ८५ प्रतिशत मात्र देखिएको छ। इकाइका सूचना अधिकारी इन्जिनियर शौरभ कलौनीले ठेक्का लगाइएको धनगढीको कुल १० दशमलव २५ किलोमिटरका सातवटा सडकमध्ये ६ वटा सडक कालोपत्रे भएर फुटपाथ निर्माण र नालीमा ढक्कन मात्र राख्न बाँकी रहेको बताए।

सबैभन्दा बढी महत्वका साथ हेरिएको कैलाली पुलदेखि चौराहासम्मको १ दशमलव ३८ किलोमिटर चार लेन सडकमा निर्माण कम्पनीले हालै मात्र सब बेस बनाउन थालेको छ। सन् २०२२ को अन्त्यसँगै निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनलाई दिएको म्याद सकिएको थियो। त्यसपछि आयोजना कार्यालयले ६ महिनाको म्याद थपेको थियो। सो अवधिसम्म पनि काम पूरा नभएपछि आयोजना कार्यालयले यही अक्टोबर ३१ सम्मका लागि म्याद थपेको छ।

अझै पनि सबै विद्युतका पोल सार्न नसकिएकाले म्याद थप गर्नैपर्ने अवस्था आएको इन्जिनियर कलौनीले बताए। कैलाली पुलदेखि चौराहासम्मको खण्डमा सब बेस बनाउने काम अधुरै छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको सो सडक २४ महिनामा निर्माण गर्न कालिका कन्स्ट्रक्सनसँग २०७७ असारमा ठेक्का सम्झौता गरिएको थियो। धनगढीमा कालिका कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा ७ वटा सडक निर्माण गर्ने सम्झौता भएको थियो।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो।

कमेन्ट लोड गर्नुस