सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोग प्रभावित क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

२०७६ वैशाख १५, ०३:२७ खबर संवाददाता

पहिचान नभएको रोगका कारण ९ जनाको ज्यान गएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आइतबार बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए। सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ। ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनको भनाइ थियो।

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिसकेको छ। हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ। हुम्लाको यो गाउँपालिकामा पहिचान नभएको रोगका कारण ज्यान जानेको सङ्ख्या नौ पुगेको छ। गाउँपालिका–१, २ र ३ थुप्रै मानिस थला परेको जनाइएको  छ। 

अज्ञात रोगका कारण एकजनाको चैत २६ गते र अन्य आठको वैशाख पहिलो सातादेखि अहिलेसम्म ज्यान गइसकेको छ मैला स्वास्थ्यचौकीका अहेब मोतिलाल जैसीका अनुसार ज्यान जानेमा दुई बालक र सात  वृद्ध छन्। शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको ज्यान गएको थियो।

यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको स्वास्थ्यचौकी प्रमुख जैसीले जानकारी दिए। रासस
 

कमेन्ट लोड गर्नुस