महेन्द्रनगर, धनगढी र दार्चुलाबाट लाखौ मूल्यका अबैध सामान बरामद
धनगढीः प्रहरीले कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र दार्चुलाको महाकालीबाट गरी लाखौ मूल्यका अबैध सामान बरामद गरेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट करिब ५० हजार मुल्य बराबरका भन्सार छलीका चिनी, मिश्री, दाल लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो। त्यस्तै भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय अगाडीबाट पनि करिब १५ हजार मूल्य बराबरका बिडी, प्लाष्टिक लगायतका सामान बरामद गरिएको छ।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी पुलबाट ४५ हजार मुल्य बराबरका कुर्ता सुरुवाल, बच्चाले लगाउने दाउरा सुरुवाल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बेलौरी नगरपालिकाकै वडा नम्बर १० सडकघाटबाट पनि प्रहरीले करिब १५ हजार पाँच सय मुल्य बराबरका अबैध सुर्तीजन्य पदार्थ गरेर करिब एक लाख २५ हजार पाँच सय मुल्य बराबरका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरेको हो।
यता कैलालीको धनगढी उपमहानगरपालिका–४ गोल मार्केटबाट पनि प्रहरीले अबैध सामान बरामद गरेको छ। करिब ३० हजार मूल्य बराबरका लेडिज सुट, कुर्ती, धोती लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो। त्यस्तै धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानबाट करिब ६६ हजार मुल्य बराबरका चिनी, प्लाष्टिक डोरी, बिडी, सुर्ती गरेर करिब ९६ हजार मूल्य बराबरका अवैध सामान सोमबार बराबद गरेको प्रहरीले जनाएको छ।
उता पहाडी जिल्ला दार्चुलाबाट पनि प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुबाट करिब ८० हजार पाँच सय मुल्य बराबरका अवैध सामान प्रहरीले जफत गरेको हो। जफत गरिएका सबै सामान सम्वन्धित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।