सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक लाख राशिको भलिबल प्रतियोगिता हुने 

२०८० असोज २३, ०८:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महाकाली नदी किनारामा एक लाख पुरस्कार राशिको खुला 'विच'भलिबल प्रतियोगिता हुने भएको छ।

त्यहाँको नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो।

आयोजकले सोमवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा 'विच'भलिबल आयोजना गरिने जानकारी गराएको छ।

नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल सङ्घका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताए। खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले रु एक लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

त्यसैगरी द्वितीय हुने टिमले रु ५० हजार र तृतीय हुने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिए। त्यसैगरी भेट्रान चालीस वर्षभन्दा माथिे तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिम रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन्।
 

कमेन्ट लोड गर्नुस