सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको आगामी सुदूरपश्चिम नेतृत्वका लागि दौडधुप, तीन जना मैदानमा

२०८० असोज २२, ०७:०९ खबर संवाददाता

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशको बन्दसत्र सोमबारबाट सुरू भएको छ। निवर्तमान अध्यक्ष दामोदर भण्डारीले राजनीतिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गराएपछि नेतृत्व चयनको प्रक्रिया सुरू भएको हो। एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन्।

निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी अध्यक्ष बन्ने दौडमा छन्। त्यस्तै नेकपा विभाजनका बेला एमालेबाट युवा संघका अध्यक्ष बनेका बचन सिंह पनि अध्यक्षको आकांक्षी छन्। आइतबार उद्घाटन सत्रपछि पार्टी महासचिव शंकर पोखरेलले सहमतिको प्रयास गरेका थिए।

उनले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टी पोलिटब्युरो, केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षहरूसँग सामुहिक छलफल गरेर सुझाव लिएका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व छान्न महासचिव पोखरेललाई निर्देशन दिएर आइतबार नै काठमाडौं फर्किएका थिए। २०५४ सालमा अछामका जिविस सभापति रहेका जैसी पोलिटब्युरो सदस्य कर्ण थापा निकट हुन्।

तिमिल्सिनालाई इतर समूहको साथ रहेको छ। त्यसमा भीम रावल पनि थपिएका छन्। भीम रावललाई अधिवेशनमा उपेक्षा गरिएको भन्दै उनी निकट केन्द्रीय सदस्य नेतृत्वप्रति रूष्ट बनेका छन्। त्यसको प्रभाव पनि अधिवेशनमा पर्ने देखिएको छ। एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन्।

प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ। नेकपा एमालेका कैलाली पार्टी जिल्ला कमिटी सदस्य आनन्द भट्टका अनुसार राजनीति दस्तावेज र आर्थिक दस्तावेज पास हुनुका साथै कमिटीको खाँका कस्तो बनाउने भन्ने विषयमा पनि हलबाट पास भएको छ। उनका अनुसार नीति चयनको काम सकिएर अब नेतृत्व चयनको काम बाँकी छ। आज ६ बजे मतदाता नामावली प्रकाशन भएको छ।

कमेन्ट लोड गर्नुस