सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृतक १० नेपालीको शव नेपाल ल्याउन इजरायलसँग समन्वय हुँदै

२०८० असोज २२, ०६:१९ खबर संवाददाता

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरुको  निधन भएको नेपाली दूतावासले पुष्टि गरेको छ।  

मृतकको नामावली छिट्टै सार्वजनिक गरिने इजरायलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस्तै ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको दूतावासको भनाइ छ। साथै, सम्पर्कविहिन रहेका एक जना नेपालीको खोजीकार्य भइरहेको जनाइएको छ। दुई जना भने प्रहरीको सम्पर्कमा रहेर सुरक्षित रहेका छन्। 

दूतावासले मृतकको शव नेपाल ल्याउने प्रक्रियाको लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ। यसैगरी दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय गर्न पनि अनुरोध गरेको छ।

दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरुको स्वदेश फिर्तिको लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिष्ट्रेशनको व्यवस्था गरिने समेत जनाएको छ। 

कमेन्ट लोड गर्नुस