सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भीम रावल खोइ? भन्दा अध्यक्ष ओलीको प्रसङ्ग बदलियो

२०८० असोज २१, ०६:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा भीम रावलको खोजी हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कै प्रसङ्गमा समर्थकहरुलाई मोड्ने काम गरेका छन्।

ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको हो। आइतबार धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा रावलको खोजी हुँदा अध्यक्ष ओलीले प्रसङ्गलाई अन्तै मोड्ने काम गरेका हुन्। एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएपछि उनका समर्थकले खोजी गरेका थिए।

ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै समयमा पछाडिबाट केही समर्थकहरुले भीम रावल खोइ? भन्दै प्रश्न गरेका थिए। तर ओलीले भने चुप लाग्नुस् साथीहरू भन्दै अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए। अछामका रावल अहिले गृह जिल्लामै छन्।

एमालेको दशौँ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन। नेता रावलले भने एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन भइरहेको विषय सञ्चार माध्यमबाट थाहा पाएको बताएका छन्। अधिवेशनबारे पार्टीबाट कुनै जानकारी नआएको समेत उनले बताएका हुन्।

कमेन्ट लोड गर्नुस