सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कम तौलका शिशुको जन्म अधिक, यस्तो छ पालिकागत तथ्याङ्क

२०८० असोज २१, १०:०४ नारायण अवस्थी

धनगढीः कैलालीमा कम तौलका शिशुको जन्म अधिक देखिएको छ। जिल्लामा करिब ८ प्रतिशत नवजात शिशु कम तौलका जन्मने गरेको तथ्यांकले देखाएको हो। न्यूनतम ४ र अधिकतम १२ प्रतिशत नवजात शिशुको तौल जन्मका बखत २ दशमलव ५ किलोग्रामभन्दा कम हुने गरेको छ। यस्तो समस्याबाट दम्पत्तिहरु हैरान छन्।

कैलालीमा गत वर्ष करिब ८ प्रतिशत नवजात शिशु कम तौलका जन्मेका छन्। आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को भन्दा २०७९/८० मा कम तौलका नवजात शिशु जन्मने प्रतिशतमा सुधार भए पनि केही पालिकामा भने कम तौलका शिशु जन्मने दर जिल्लाको औसत दरभन्दा झण्डै दोब्बर देखिएको छ।

आर्थिक बर्ष २०७७/७८ मा कैलालीमा कम तौलका शिशु जन्मने दर १३ दशमलव २ प्रतिशत रहेकोमा २०७८ मा केही सुधार भएर १० दशमलव ८ प्रतिशतमा झरेको छ। गत वर्ष भने सुधार भएर कम तौलका शिशु जन्मने दर ७ दशमलव ६ प्रतिशतमा झरेको छ। कम तौलका शिशु जन्मने दर सबैभन्दा बढी कैलालीको जोशीपुर गाउँपालिकामा देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा १४ दशमलव ९ प्रतिशत शिशु कम तौलका जन्मेको जोशीपुरमा आर्थिक वर्ष २०७८/७९ मा सुधार भएर ८ दशमलव ९ प्रतिशतमा झरेको भए पनि आर्थिक वर्ष २०७९/८० मा फेरि बढेर कम तौलका शिशु जन्मने दर ११ दशमलव ७ प्रतिशत पुगेको छ। कम तौलका शिशु जन्मने पालिकामा भजनी दोस्रो नम्बरमा छ।

भजनीमा आर्थिक वर्ष २०७७/७८ मा कम तौलका शिशु जन्मने प्रतिशत ८ दशमलव ६ रहेकोमा २०७८/७९ मा बढेर ९ दशमलव ४ र आर्थिक वर्ष २०७९/८० मा ९ दशमल ९ प्रतिशत पुगेको छ। घोडाघोडी नगरपालिकमा कम तौलका शिशु जन्मने प्रतिशत आर्थिक वर्ष २०७७/७८ मा १५ दशमलव ८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा केही सुधार भएर ११ दशमलव ९ प्रतिशतमा पुगेको छ भने आर्थिक वर्ष २०७९/८० मा ९ दशमलव ८ प्रतिशत बालबालिका कम तौलका जन्मेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।

टीकापुर नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा कम तौलका शिशु जन्मेको दर ६ दशमलव ३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा बढेर ९ दशमलव ३ प्रतिशत शिशु कम तौलका जन्मेका छन्। टीकापुरमा आर्थिक वर्ष २०७९/८० मा कम तौलका शिशु जन्मने दर ८ दशमलव २ प्रतिशत रहेको पाइएको छ।

गौरीगङ्गा नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा ३ दशमलव ८ प्रतिशत शिशु कम तौलका जन्मेकामा आर्थिक वर्ष २०७८/७९ मा बढेर ५ दशमलव ४ प्रतिशत पुगेको छ भने आर्थिक वर्ष २०७९÷८० मा कम तौलका शिशु जन्मने दर ८ प्रतिशतमा उक्लेको छ। त्यस्तै धनगढीमा आर्थिक वर्ष २०७७/७८ मा कम तौलका शिशु जन्मने दर जिल्लामै सर्वाधिक १८ दशमलव ९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा घटेर १३ दशमलव २ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा ७ दशमलव ६ प्रतिशत रहेको छ।

जानकी गाउँपालिकमा कम तौलका शिशु जन्मने दर आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेर १४ प्रतिशत पुगेको छ। जानकीमा आर्थिक वर्ष २०७७/७८ मा ७ दशमलव २ र आर्थिक वर्ष २०७८/७९ मा कम तौलका शिशु जन्मने दर ४ दशमलव ८ प्रतिशत छ। कैलारी गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा कम तौलका शिशु जन्मने दर ७ दशमलव ५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा ७ दशमलव ६ तथा आर्थिक वर्ष २०७९/८० मा ६ दशमलव ५ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ।

लक्मीचुहा नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा ४ दशमलव ६ प्रतिशत शिशुको तौल २ दशमलव ५ किलोग्राम भन्दा कम थियो भने आर्थिक वर्ष २०७८/७९ मा यो दर बढेर ५ दशमलव ४ प्रतिशत पुगेको छ। लम्कीचुहामा गत आर्थिक वर्षमा जन्मेका ४ दशमलव ८ नवजात शिशुको तौल कम  थियो।

बर्दगोरिया गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा ५ दशमलव ५ प्रतिशत शिशुको तौल कम थियो भने आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव ४ र आर्थिक वर्ष २०७९/८० मा ५ दशमलव ६ प्रतिशत शिशुको जन्मदाको समयमा कम तौल रहेको भेटिएको छ। चुरे गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा ५ दशमलव २ प्रतिशत नवजात शिशुको तौल कम रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यो संख्या ३ दशमलव ८ प्रतिशतमा झरेको छ।

आर्थिक वर्ष २०७९/८० मा भने कम तौलका शिशु जन्मने प्रतिशत ४ दशमलव ६ प्रतिशत छ। मोहन्याल गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा कम तौलका शिशु जन्मने दर ४ दशमलव ६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा बढेर कम तौलका शिशु जन्मने दर ८ दशमलव ८ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा भने कम तौलका शिशु जन्मने दर ४ दशमलव ६ प्रतिशतमा झरेको छ।

गोदावरी नगरपालिकामा कम तौलका शिशु जन्मने दर थोरै छ। गोदावरीमा आर्थिक वर्ष २०७७/७८ मा १ दशमलव ९ प्रतिशत शिशु कम तौलको जन्मेकोमा आर्थिक वर्ष २०७८/७९ मा ३ दशमलव ५ प्रतिशत शिशु कम तौलका जन्मेको तथ्यांक छ। आर्थिक वर्ष २०७९/८० मा गोदावरीमा ३ दशमलव ६ प्रतिशत शिशु मात्रै कम तौलका जन्मिएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्क छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस