सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक सभामा पेस गर्न माग

२०८० असोज २०, १०:२५ कमल सावद

धनगढीः संघीय मन्त्रिपरिषद्को मंगलवारको बैठकले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेको भन्दै संर्घष समितिले धन्यवाद दिएको छ। साथै विधेयकलाई संघीय संसदमा पेस गर्ने बाटो खुल्ला भएसँगै समय मिलाउन सभामुखलाई ज्ञापन पत्रसमेत बुझाइएको छ।

कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिले जिल्ला प्रशासन कैलाली मार्फत सभामुखलाई विधेयक पेस गर्न र छलफलका लागि समय मिलाउन आग्रह गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा मन्त्रीपरिषद्लाई धन्यवाद दिएका छन्। उनले भने, ‘मन्त्रीपरिषद्बाट निर्णय भएको छ। प्रतिनिधि सभामा चाँडै पेस होस्।’

संघीय संसदबाट गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको कानून बन्ने छ। कानुन बनेपछि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने छ। संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विधेयक मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै सुदूरपश्चिममा हर्ष छाएको छ।

यहाँका नागरिकले स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिमा पारित गर्न आग्रह गरेका छन्। पाण्डेले भने, ‘प्रतिनिधि सभाका सबै सासदहरुले विधेयक ससदमा पेस गर्न भूमिका खेल्नुपर्छ। स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक संसदबाट कानून बनेका दिन धनगढी, अत्तरिया लगायत सुदूरपश्चिममा दिपावली मनाउछौ।’

गेटामा शिक्षा मन्त्रालयले नै पाँच अर्ब बढीका भौतिक संरचनाहरु तयार पारेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भन्दै भौतिक संरचनाहरु निर्माण गरेको हो। संघीय सरकारले २०७९ माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसका लागि पाँच अर्ब बढी लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवन निर्माणको काम पूरा भएको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले स्थानीय प्रशासनको तर्फबाट हुने सहयोग गर्ने बताए। उनले भने, ‘नेपाल सरकारले आत्मसाथ गरेको छ। विधेयक पास गर्ने सरकारको निर्णय छ।’ गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका लागि विद्युत जडान, सडक निर्माण, पर्खाल निर्माण लगायतको काम जारी छ। कानुनी बाटो तयार भइसकेपछि नेपालमै पहिलोपटक स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने छ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि तयार भएको विधेयकलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै सभामा पेस गर्न दबाब सुरु गरिएको छ। गेटामा निर्माण गरिएका भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गठन गरिएको समितिले दबाब स्वरुप शुक्रवार प्रतिनिध सभालाई ज्ञापन बुझाएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस