सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा बन्दै गरेको विश्वविद्यालयको विधेयक अघि बढेपछि संघर्ष समिति उत्साहित

२०८० असोज १८, ०४:१९ खबर संवाददाता

धनगढीः कैलालीको गेटामा शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय भएपछि यहाँका स्थानीय उत्साहित भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो। गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अगाडि बढेको भन्दै विश्वविद्यालयका लागि लामो समयदेखि संघर्ष गरिरहेकाहरू सबैभन्दा बढी उत्साहित देखिएका हुन्।

सरकारले गेटामा माघ २९ गते नै शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन गर्न सङ्घर्षका कार्यक्रम अघि बढाइएको थियो। हालै मात्र विधेयको ड्राफ्ट तयार भएर सदनमा पेश गर्ने निर्णय भएपछि विश्वविद्यालय बन्नेमा ढुक्क हुने अवस्था सृजना भएको भन्दै संघर्षरत पक्ष उत्साहित देखिएको छ।

शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मङ्गलबारको मन्त्रिपरिषद्को निर्णयपछि आफूहरू निकै उत्साहित भएको बताए। उनले बिहीबार संघर्ष समितिको बैठक बसेर सरकारको निर्णयको स्वागत गर्दै धन्यवाद ज्ञापन गरिएको समेत बताए।

संघर्ष समितिले सरकारबाट पारित भएको विधेयक अविलम्ब संसद्मा पेश गरेर पारित गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालय, प्रतिनिधि सभाका सभामुख समक्ष अपिल गर्ने निर्णय पनि गरेको छ। बैठकले विधेयक अविलम्ब पास गरी गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनका लागि दबाव दिन शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाउने निर्णय संघर्ष समितिले गरेको छ।

कमेन्ट लोड गर्नुस