सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा देखिएन सुधार, बिरामीलाई शय्या पाउनै सास्ती

२०८० असोज १७, ०९:३८ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका–५ तारानगरका जयराज भट्टका ७० वर्षीय बुवा यज्ञराज भट्टलाई मुटुको समस्या छ। मुटुको समस्या बढेपछि बुवालाई सेती अस्पताल ल्याएका जयराजलाई डाक्टरले भर्ना गरेर उपचार गर्नुपर्ने सल्लाह दिए।

सोमबार बिहान बुवालाई अस्पताल ल्याएका जयराजले मङ्गलबार १ बजेसम्म आकस्मिक कक्षमा बुवालाई सुताउन शय्या पाउन सकेनन्। आकस्मिक कक्षमा एउटै शय्यामा तीन जनासम्म बिरामी राखेर उपचार भइरहेकाले कुनै बिरामी वार्डमा सारिए या घर गए पालो पाइने आशामा जयराजले आफ्ना बुवालाई  कुरुवा बस्ने बेञ्चमा सुताएका थिए।

डाक्टरले सोमबार नै भर्ना गर्नु भने पनि वार्डमा पनि शय्या नपाउँदा बिरामी बुवालाई घर लगेर मङ्गलबार फेरि अस्पताल ल्याएको भट्टले बताए। 'बुवालाई मुटुको समस्या छ। चेकजाँच गराउँदा डाक्टरले भर्ना गरेर उपचार गर्नुपर्ने भनेका छन्,' उनले भने, 'यता अस्पतालमा शय्या पाउनै मुस्किल छ। भुइँमा बसालेर बेञ्चमा सुताएर शय्या पाउने पालो कुर्नु परेको छ।'

धनगढी उपमहानगरपालिका–३ मिलनचोककि बिमला कुमारी शाह ५ वर्षीय बिरामी नातिनी समातेर थप दुई जना बिरामी पल्टिएको शय्याको छेउमा बसेकी थिइन। सोमबार राति अस्पताल आएककी शाहले पनि नातिनीका लागि शय्या नपाएको गुनासो गरिन्। 'सोमबार राति नातिनीलाइओ लिएर आएका हौँ। अस्पतालमा शय्या पाउन सकिएको छैन,' उनले भनिन्, 'ज्वरो आएको पाँच दिनपछि आएका हौँ। यता बिरामीलाई बिरामीसँगै कोचाकोच गरेर बसाउनु परेको छ।'

सेती अस्पतालको आकस्मिक कक्षमा गोदावरी नगरपालिका–३ का भुवन चौधरीकी श्रीमतीसहित दुई जना बिरामी एकै शय्यामा पल्टिएका थिए। यस्तै, धनगढी–१६ रामपुरका कृष्णराज कँडेलले बुहारी सपना कँडेललाई चौमला अस्पतालबाट सोमबार १ बजे सेतीमा ल्याए पनि मङ्गलबार दिउँसोसम्म शय्या पाएका छैनन्। कँडेलले दुई जना बिरामीसँगै बुहारीलाई बसाउनु परेको बताए।

बैतडीको शिवनाथ गाउँपालिका–५ का केशव ओडले बिरामी दाइ कृष्ण ओडलाई अर्को बिरामीसँगै बसालेको देखिन्थ्यो। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–४ का महावीर चौधरीले छोरी फूलकुमारी चौधरीलाई मङ्गलबार सेती अस्पतालमा ल्याएका हुन्। आकस्मिक कक्षको शय्यामा दुई जना बिरामीसँग बसाएर छोरीको उपचार भइरहेको चौधरीले बताए। यस्तै, गोदावरी नगरपालिका–९ की सुमित्रा चौधरी सोमबारदेखि  चार वर्षीया बिरामी छोरीलाई राख्न शय्या नपाएर हैरान छिन्।

उनले बच्चालाई बसाल्न समेत बालबालिका वार्डमा ठाउँ नपाएको गुनासो गरिन्। ूमेरो छोरीलाई उपचार गर्न भर्ना गर्नुपर्ने भनिएको छ। तर, न बालबालिका वार्डमा शय्या खाली छ न त आकस्मिक कक्षमै ठाउँ पाउन सकियो,' उनले भनिन्, 'हारगुहार र प्रतीक्षा गर्दा पनि शय्या पाएकी छैन। सरकारसम्म सेतीको यो हालत बारे खबर पुगाइदिनु पर्‍यो।'

प्रदेश सरकार मातहतको ५० शय्याको स्वीकृत दरबन्दी भएको सेती अस्पतालमा ३२५ शय्या सञ्चालनमा छन्। तर, अस्पतालमा आउने बिरामीले शय्या पाउनुलाई नै भाग्यमानी भएको ठान्नुपर्ने अवस्था छ। सेतीमा आउने बिरामीको संख्या हरेक दिन बढ्दो छ। तर, अस्पतालको क्षमता बढाउन भने कुनै काम भएको छैन। प्रदेश सरकारले दुई सय शय्यामा स्तरोन्नति गर्ने औपचारिक निर्णय गरेको एक वर्ष पूरा भएको छ।

स्तरोन्नतिका विषयमा निर्णय बाहेक थप प्रगति हुन सकेको छैन। सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले मन्त्री भए लगत्तै  सेतीमा भदौबाट देखिने गरी सुधार गर्ने दाबी गरेपनि अस्पतालमा आउने बिरामीले बस्नसम्म ठाउँ नपाउने अवस्था आएको छ। मन्त्री भए लगत्तै साउँदले भदौ महिनाबाट सेतीमा देखिने गरी सुधार ल्याउने बताएका थिए। 'सेती प्रादेशिक अस्पतालको क्षमताभन्दा बढी बिरामी आउँदा उपचारमा समस्या हुने गरेको छ,' उनले भनेका थिए, 'शय्या नपाउने समस्या हटाउन र उपचार सहज बनाउन सेती अस्पतालमा भदौबाट देखिने परिवर्तन हुन्छ।'

सेती प्रादेशिक अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभावले यहाँ आउने सबै बिरामीले उपचार नपाउने अवस्था छ। सरकारी अस्पतालमा सहज र सस्तो उपचार सेवा पाउने आशामा आउने निम्न आय भएका बिरामीले अस्पतालमा बस्नसम्म ठाउँ नपाउँदा थप बिरामी हुनुपर्ने अवस्था छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस