सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझा पार्टीको नाम परिवर्तन

२०७६ वैशाख १४, ०४:०० खबर संवाददाता

विवेकशिल साझा पार्टीको नाम परिवर्तन गरिएको छ। अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ।  रणनीतिक कार्यक्रम तय गर्न बैशाख ११ देखि १३ गते सम्म पार्टीका संयोजक रविन्द्र मिश्रको  अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको पूर्ण बैठकले नाम परिवर्तन गर्ने निर्णय गरेको हो। तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो। तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ।

छुट्टिएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’ बनाउने  निर्णय गरिएको विज्ञप्ती मार्फत जानकारी दिईएको छ। यस्तै बैठकले जेठ १ गतेदेखि  कम्तिमा तीन महिना सम्म वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि देशभर आम सर्वसाधारणसँग अन्तरक्रिया गर्ने, विश्वका विभिन्न देशले अभ्यास गरे जस्तै स्थानीय तहको निर्वाचन गैर दलीय बन्नु पर्छ भन्ने धारणालाई प्रमुख एजेण्डा बनाउदै सोही अनुसार कार्यक्रम गर्ने, भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत हुने, तल्लो तहदेखि केन्द्रीय नेतृत्व सम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय पनि गरेको जनाएको छ।

यस्तै बैठकले विदेशमा रहेका पार्टीका सदस्यहरूलाई ‘विशेष प्रदेश’को मान्यता दिने, पार्टीको निर्वाचनमा उनीहरूलाई मतदानको अधिकार दिने, विदेशका पार्टी आवद्ध सद्भाव समूहहरूले पार्टीको महाधिवेशनमा प्रतिनिधहरू पठाउन सक्ने र सद्भाव समूहरूको अन्तराष्ट्रिय सञ्जालका संयोजकलाई पार्टीको पदेन केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरेको छ भने पार्टीको तीन महिने यात्राको क्रममा प्राप्त सुझावहरू पनि समेटेर विस्तृत कार्यक्रमहरू तर्जुमा गरिने जनाएको छ। 

कमेन्ट लोड गर्नुस