सानदार ब्याटिङका बाबजुद नेपाल भारतसँग पराजित

काठमाडौं: चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो।
भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ। पराजित भए पनि नेपालले भारतलाई कडा चुनौती दिएको थियो। जवाफी ब्याटिङका क्रममा नेपालका ब्याटरले सानदार ब्याटिङ गरेका थिए। नेपालका लागि दीपेन्द्र सिंह ऐरी ३२ रन बनाए।
१५ बल खेलेका उनले चार छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले २९ रन बनाए। १२ बल खेलेका उनले तीन छक्का र एक चौका प्रहार गरे। कुशल भुर्तेल २८, कुशल मल्ल २९, करण केसीले १८ र आसिफ शेख १० रन बनाएर आउट भए। सोमपाल कामीले सात, सन्दीपले पाँच र कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके।
भारतका लागि आवेश खान र रवि विष्णोईले समान तीन÷तीन विकेट लिए। यस्तै अर्शदीप सिंहले दुई विकेट लिए । साई किशोरले एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो। भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए।
४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए। उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपन्द्रले दुई विकेट लिए। दीपेन्द्रले कप्तान रितुराज गायकवाडको विकेट लिएका थिए।
यस्तै भारतका लागि रिंकु सिंहले ३७ रन बनाए भने शिवम दुवे र रुतुराज गायकवाडले समान २५ रन बनाए। चार बल खेलेका जितेश शर्मा ५ रन बनाएर आउट भए भने १० बल खेलेका तिलक वर्मा २ रनमै आउट भए।
नेपालका लागि दीपेन्द्रले दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक÷एक विकेट लिए। नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ। भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन्।
नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो। भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो। आजको विजेता टोली सेमिफाइनल पुग्नेछ।नेपालले टी–२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो।

