धनगढीबाट दुई अर्ब ४१ करोडको व्यापार घाटा
धनगढीः कैलालीको त्रिनगर भन्सार नाका धनगढीबाट दुई अर्ब ४१ करोड ८५ लाखको व्यापार घाटा देखिएको छ। चालु आर्थिक वर्षको दुई महिनामै व्यापार घाटा उच्च देखिएको हो। सो अवधिसम्ममा यहाँबाट १३ करोडको मात्र निर्यात व्यापार भएको छ। दुई महिनामा अढाई अर्बको आयात भएको त्रिनगर भन्सार कार्यालयको तथ्यांक छ।
त्रिनगर नाका हुँदै नेपालबाट भारतमा १३ करोड ७० लाख ९८ हजारको सामान निर्यात भएको हो। त्रिनगर भन्सारले आयातबाट ९८ करोड ७१ लाख ३१ हजार र निर्यातबाट ४ लाख ४७ हजार गरी ९८ करोड ७५ लाख ८० हजार राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २६ अर्ब ७१ करोड ९९ लाख ७८ हजारको सामान आयात हुँदा ४७ करोड ४७ हजारको सामान मात्र निर्यात भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा त्रिनगर भन्सार कार्यालयले आयातबाट ८ अर्ब २५ करोड ५४ लाख ८२ हजार राजस्व संकलन गरेको थियो भने निर्यातबाट २२ लाख ५८ हजार राजस्व संकलन गरेको थियो। गत वर्ष २६ अर्ब २४ करोड ९९ लाख ३० हजार व्यापार घाटा भएको थियो। त्रिनगर नाकाबाट सबैभन्दा बढी डिजेल, पेट्रोल, ग्यास, दालमोठ, पापडलगायतका नमकिन, निर्माण सामग्रीहरू फिनिसिङ सेरामिक्स, काँच, फलाम, कपडा, खाद्यान्न र तरकारी आयात हुँदै आएको छ।
प्लान्ट क्वारेन्टिन कार्यालय बन्द भएपछि पछिल्लो डेढ महिनायता खाद्यान्न र तरकारी आयात बन्द रहेको भन्सार अधिकृत पवित्रकुमार खड्काले बताएका छन्। त्रिनगर भन्सार नाकाबाट कत्था, रोजिन, टर्पेनटाइन, खयर कत्था, खली, कालो नुन, चुनढुंगालगायत ९ प्रकारका सामग्री निर्यात हुने गरेको छ।
सो नाकाबाट एक हजार ७ सय ९ प्रकारका सामान आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ। पछिल्लो समय आर्थिक मन्दीका कारण आयात र निर्यात दुवै घटेको छ। भन्सार अधिकृत खड्काले आयात ठूलो परिमाणमा घटेपछि राजस्व संकलनसमेत आधाले घटेको छ।
चालु आर्थिक वर्षको पहिलो र दोस्रो महिनामा राजस्व असुली लक्ष्यको ६० प्रतिशत मात्रै भएको छ। भदौमा ८८ करोड ४० लाख १४ हजार लक्ष्य रहेकोमा ५१ करोड ९३ लाख २५ हजार मात्रै असुली भएको छ। त्यस्तै साउनमा ७२ करोड ३५ लाख ६९ हजार लक्ष्य रहेकोमा ४६ करोड ८२ लाख ५५ हजार मात्र राजस्व असुल भएको हो।