सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुमीको विशेषताका आधारमा कैलाली कञ्चनपुरका स्थानीय तहको नक्साङ्कन

२०७६ वैशाख १४, ०३:४३ जनक विष्ट

कैलाली र कञ्चनपुरका सबै स्थानीय तहको भु–उपयोग नीतिमा आधारित भएर नक्साङ्कन गरिएको छ। नापी विभागले भुउपयोग नीतिमा केन्द्रीत भई भुमीको विशेषताको आधारमा दुवै जिल्लाका स्थानीय तहको नक्साङ्कन गरेको हो। नापी विभागले अहिले स्थानीय तहहरुलाई नक्सा हस्तान्तरणको काम गरिरहेको छ। नापी विभागले झण्डै एक वर्षको समय लगाएर भुमीको विशेषताका आधारमा कैलाली कञ्चनपुरका सबै स्थानीय तहको नक्साङ्कन गरेको हो।

भु–उपयोग नीति २०७२ मा टेकेर भु्मीको वर्गीकरण गर्दै सोही अनुसारको नक्सा तयार पारिएको नापी विभागले जनाएको छ। नक्सा हस्तान्तरण र प्राविधिक सहयोग गर्न सुदूरपश्चिम आएको नापी विभागका टोली प्रमुख करन सिंह रावलले भुमीको विशेषताका आधारमा दुवै जिल्लाका स्थानीय तहको नक्साङ्कन गरिएको जानकारी दिए। विभागले सबै स्थानीय तहमा माटोको किसिम, उर्वराशक्ति, हावापानी लगायतका आधारमा नक्साङ्कन गरेको रावलले बताए।

भुमीका विशेषताको सुक्ष्म अध्ययन गरी तयार गरिएको नक्साले स्थानीय तहलाई गुरु योजना बनाई क्षेत्रगत रुपमा विभिन्न जोनहरु निर्माण गर्न बाटो खुलेको छ। नापी विभागका महानिर्देशक तथा भुउपयोग विज्ञ प्रकाश जोशीले नक्साकै आधारमा सबै पालिकाहरुले छुट्टाछुट्टै कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग तथा खुला क्षेत्र तथा आवश्यकताका आधारमा तोकिएका अन्य क्षेत्र बनाई विकासको मोडल समेत बनाउन सक्ने बताए।

विभागले गरेको नक्साङ्कनका आधारमा स्थानीय तहमा भुउपयोग नीति लागु भएमा भुमीको व्यवस्थित विकास हुनुका साथै सदुपयोग समेत गर्न मिल्ने विज्ञहरुले बताएका छन्। स्थानीय तहहरुले भुउपयोग नीति लागु गर्न अग्रसरता देखाएमा बढ्दो बसाईसराईलाई व्यवस्थित गर्दै दीगो विकासको अवधारणलाई पनि अगाडी बढाउन सकिने उनीहरुको भनाई रहेको छ।

नापी विभागले पनि भु–उपयोग सम्बन्धी क्षमता अभिवृद्धि गर्न कैलालीको गोदावरी नगरपालिकाका प्राविधिकहरुलाई क्षमता अभिबृद्धि तालिम समेत दिईने नापी विभागको टोली प्रमुख रावलले जानकारी दिए। कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने स्वंयम आफै नक्साकङन गर्ने बताईएको छ भने सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्थानीय तहको नक्साङन पनि यसै वर्ष भित्र सम्पन्न गरिने उनले बताए।

पछिल्लो समय बढ्दै गएको जनसंख्या, आन्तरिक बसाईसराई, अव्यवस्थित शहरीकरण, कृषियोग्य जमीन, वनजंगल तथा सार्वजनीक जग्गा अतिक्रमणका कारण भुमी र प्राकृतिक स्रोतहरुको संरक्षणमा चुनौति थपिदै गएको छ। पर्यावरणीय परिवर्तनको असरले नै भुक्षयीकरण, बाढी, पहिरो लगायतका प्राकृतिक विपदको समेत सामाना गर्नुपरिरहेको छ।

तर भु–उपयोग नीतिलाई आधार मान्दै नापी विभागले तयार गरेको नक्साको आधारमा स्थानीय तहले गुरु योजना बनाई दीगो विकासको अवधारणा लागु गर्न सके यस्ता विविध समस्याको अन्त्य हुने विश्वास लिईएको छ।  यस्तै विभागले आज कञ्चनपुरका स्थानीय तहलाई नक्सा हस्तान्तरण गरेको छ। जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमका बिच नक्सा हस्तान्तरण गरेको जनाएको छ भने कैलालीका स्थानीयलाई तहलाई आउँदो बैशाख १६ गते नक्सा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ।  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस