कञ्चनपुरमा सशस्त्र प्रहरी र भारतीय काठ तस्करबिच झडप, नेपालीमाथि आक्रमण
कञ्चनपुरको बेलौरीमा रकम नदिएको भन्दै सशस्त्र प्रहरीले भारतीय काठ तस्करलाई कुटेर छोडेपछि स्थानीयमाथी आक्रमण भएको छ। शुक्रबार राती भारतबाट काठ तस्करी गरेर लुकाउन ल्याउने क्रममा सशस्त्र प्रहरी बल विओपी बेलौरीबाट सिविलमा खटिएको टोलीले देखेपछि रकम असुल्न खोजेको तर नदिएपछि कुटपीट गरेर छाडेको स्थानीयले आरोप लगाएका छन्।
तस्करको कुटाईबाट घाईते भएका स्थानीय हरि थापा
स्थानीयका अनुसार राती १० बजेतीर भारतको टाटरगञ्ज जंगलबाट काठ तस्करी गरी बेलौरीमा लुकाउन आएका भारतीय र सिविलमा खटिएका सशस्त्र प्रहरीबिच बेलौरी नगरपालिका वडा नम्बर १० मा जम्काभेट भएको थियो। सशस्त्र प्रहरीले उनीहरुबाट रकम असुल्न खोजेको थियो तर नदिएपछि कुटपीट गरिएको आरोप लागेको छ।
स्थानीय दमन चन्दले सशस्त्र प्रहरीले काठ तस्करलाई कुटपीट गरे लगतै राती नै भारतबाट आएको झण्डै २५ जनाको समूहले स्थानीयमाथी आक्रमण गरेको बताए। सशस्त्र प्रहरी भागेपछि तस्करहरुले स्थानीयमाथी कुटपीट गरेका हुन्। कुटपीटबाट बेलौरी नगरपालिका १० का तारा चन्द र हरी थापा घाईते भएका छन्। यता सशस्त्र प्रहरी विओपी बेलौरीका प्रमुख सशस्त्र प्रहरी नीरिक्षक माधव प्रसाद जोशीले सशस्त्रको टोलीसंग तस्कहरुको मुडभेट नै नभएको दावी गरे। सशस्त्र प्रहरीको टोली देखेरै भारतीय काठ तस्कर नआएको जिकिर गर्दै उनले टोली फर्केपछि आएर स्थानीयमाथी आक्रमण गरेको हुनसक्ने बताए।