सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकामा सुरक्षाकर्मी र ’संदिग्ध’ विद्रोहीबीच झडप : १५ जनाको मृत्यु

२०७६ वैशाख १४, १२:४८ खबर संवाददाता

श्रीलंकाको पूर्वी तटीय क्षेत्रमा सुरक्षाकर्मी र ’संदिग्ध’ विद्रोहीबीच भएको झडपमा कम्तीमा १५ जनाको  ज्यान गएको छ। शुक्रबार साँझ अम्पारा जिल्लाको कलमुनाईमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको प्रहरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। ज्यान गुमाउनेहरुमा ६ बालबालिका, ४ बन्दुकधारी, १ नागरिक सहित १५ जना रहेका छन्। झडपमा तीन जना आत्मघाती आक्रमणकारीहरुको पनि ज्यान गएको सेनाका प्रवत्ताले दाबी गरेका छन। विद्रोही समूह सम्भवतः इस्लामिक स्टेट (आईएस) हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्।  

यसअघि गएको आइतबार इस्टर पर्वको अवसरमा भएको सिलसिलाबद्ध बम विस्फोटमा २ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए भने ४ सय ५० बढी घाइते भएका थिए। सिलसिलाबद्ध बम विस्फोटको ६ दिनपछि सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको हो। गएको आइतबार भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा गरिएको छ। विद्रोही समूहका लडाकुहरु लुकेर बसेका छन् भने एक जना हवलदारको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीले छापा मार्ने क्रममा दोहोरो भिडन्त भएको हो। 

जब सुरक्षाकर्मी विद्रोही समूहका लडाकु लुकेर बसेको घरमा पसे, घरभित्रबाट फायरिङ भयो । प्रहरीका अनुसार एक आत्मघाती लडाकुले विस्फोट गराएका हुन्। छापा मार्ने काम अहिले पनि जारी छ र यो घटनामा सशस्त्र बलका कुनै पनि जवानको हताहत नभएको प्रहरीले बताएको छ। 

यसैबीच श्रीलंकाको क्याथोलिक चर्चले आइतबार हुने प्राथना अनिश्चितकालको लागि बन्द गरेको बीबीसीले जनाएको छ। फेरि पनि आक्रमणको चेतावनी आएकाले अनिश्चितकालको लागि प्राथना स्थगित गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस