सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालसँग माल्दिभ्स १३८ रनले पराजित

फाइल फोटो
फाइल फोटो
२०८० असोज १४, १०:३६ खबर संवाददाता

काठमाडौं: १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो। २ सय १३ रनको विशाल लक्ष्य पाएर मैदानमा आएको माल्दिभ्सले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो। माल्दिभ्सका गनि मौयाथको ३६ रन नै सर्वाधिक रह्यो।

खेलमा माल्दिभ्सले १० रन अतिरिक्त पाएको थियो। माल्दिभ्सलाई सस्तैमा समेटन अविनाश बोहोराले ६ विकेट लिए। २२ बल फ्याकेका उनले ११ रन खर्चिए।  यस्तै गुल्शन झा, सोमपाल कामी, सन्दिप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए। त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो।

कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए। कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे। पाँचौं विकेटका लागि गुल्शन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए।

गुल्शन ३५ रनमा आउट भए। ओपनर आसिफ शेख ६ रनमा आउट भए भने कुशल भुर्तेल ३५ रनमा पेभिलियन फर्किए। एक वर्षपछि पुनरागमन गरेका विकेट किपर विनोद भण्डारी १३, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट हुँदा सोमपाल कामीले एक बलमा एक रन बनाए।

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए ।

कमेन्ट लोड गर्नुस