सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लुकेर बसेका ९५५ जना पक्राउ, झण्डै ६ करोड जरिबाना असुल

२०८० असोज १३, ०३:४२ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले तीन वर्षको अवधिमा ९५५ जना फरार प्रतिवादी (अदालतबाट दोष ठहर) भएकालाई पक्राउ गरेको छ। प्रदेशभित्र विभिन्न अपराधमा संलग्न तर लुकेर बसेका व्यक्तिहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो। प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा २९६ जना अदालतबाट सजाय पाएका तर फरार रहेका दोषीलाई पक्राउ गरेको छ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २३१ जना र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी ३९८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। चालु आर्थिक वर्षको दुई महिनामा भने नेपाल प्रहरीले थप ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा २९६ फरार अपराधीलाई अदालतबाट ४ सय ३७ वर्ष ४ महिना १९ दिनको सजाय तोकिएको थियो। त्यस्तै, फरार प्रतिवादीबाट आर्थिक वर्ष २०७७/७८ मा एक करोड ३३ लाख ९० हजार ९७१ रुपैयाँ जरिबाना असुल गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा पक्राउ परेका फरार प्रतिवादीबाट अदालतले २११ वर्ष ७ महिना ५ दिनको सजाय तोकेको छ भने उनीहरूबाट तीन करोड १८ लाख ५१ हजार ६३५ रुपैयाँ जरिबाना असुल गरिएको छ। प्रहरीले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी ३९८ जना फरार अपराधीलाई पक्राउ गरेकोमा उनीहरूलाई अदालतबाट २१५ वर्ष ४ महिना २४ दिनको सजाय तोकिएको छ।

पक्राउ परेका फरार प्रतिवादीबाट राज्यलाई ९५ लाख ३५ हजार ६४९ रुपैयाँ जरिबाना असुल गरिएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा प्रदेश प्रहरीले थप ३० जना फरार अपराधीलाई पक्राउ गरेको छ। उनीहरूलाई अदालतबाट २३ वर्ष ९ महिना २९ दिनको सजाय तोकिएको छ भने फरार व्यक्तिहरूबाट ५२ लाख १७ हजार ८७२ रुपैयाँ जरिबान असुल गरिएको छ।

प्रदेश प्रहरी कार्यालयले ९५५ जना पक्राउ परेका फरार प्रतिवादीबाट अदालतले पाँच करोड ९९ लाख ९६ हजार १२७ रुपैयाँ जरिबाना तोकेको जनाएको छ। फरार अपराधीलाई समात्नु र अदालतको फैसला कार्यान्वयन गर्नुलाई पनि मुख्य कार्ययोजना भित्र राखेर प्रहरीले काम गरिरहेको प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले बताए। ‘म आएपछि पाँच विषयलाई मुख्य रुपमा सम्पादन गर्ने भनेर प्रदेशभर प्रहरी संगठन र युनिट परिचालन गरिएको छ।

लागुऔषध र तस्करी नियन्त्रण, दैनिक कार्यसम्पादन र फरार अपराधी पक्राउ गर्न प्रहरी इमानदार भएर खटिएको छ,’ उनले भने, ‘फरार प्रतिवादी पक्राउ गर्ने र अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा निकै पुराना अपराधका घटनामा संलग्न भएर दोषी ठहरिएका व्यक्तिलाई पक्राउ गर्न सफल भएका छौँ।’ डिआइजी बोहराले दैनिक सम्पादक गरिनुपर्ने कामहरूलाई त्यहीँ दिन पूरा गरेर नागरिकहरूलाई ढिलासुस्ती नगरी सेवा प्रदान गर्न निर्देशन दिइएको बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस