सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखको जंगलमा ‘डेटिङ’

२०८० असोज १२, ०१:५७ खबर संवाददाता

बिर्तामोडः जिल्लाको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ। नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो।

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो। स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा बस्नेतकी श्रीमतीले गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ। यो विषय अहिले सामाजिक सञ्चालमा समेत भाइरल भइरहेको छ।

स्वास्थ्य शाखा प्रमुख निलम्बन
विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको छ। भिडियो सार्वजनिक भएपछि बसेको अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बस्नेतलाई निलम्बन गरेको हो।

बैठकले बस्नेतसँग स्पष्टीकरण माग गर्ने र अर्को व्यवस्था नहुञ्जेल उनलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट अलग गर्नका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो। शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टीकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ।

त्यस्तै, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टीकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। घटना सार्वजनिक भएपछि अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बोलाइएको थियो। यता बस्नेतले भने सडकको किनारमा बसिरहेको समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन्।

कमेन्ट लोड गर्नुस