सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधको ओसारपसार र सेवन रोक्न नेपाल प्रहरी सक्रिय

धनगढीमा सुधार गृह सञ्चालन हुँदै

२०८० असोज ११, ०७:०१ नारायण अवस्थी

धनगढीः नेपाल प्रहरीको सुदूरपश्चिममा लागुऔषध विरुद्धको महाअभियान, २०८० सञ्चालनमा छ। महाभियान अन्तर्गत लागुऔषध विरुद्ध जनचेतना जगाउने, कानूनको कार्यान्वयन गर्ने र दुर्व्यसनमा फसेकाहरूलाई सुधार्ने लक्ष्य नेपाल प्रहरीले लिएको छ।

प्रहरी अहिले प्रदेशका सवै जिल्ला, स्थानीय तह र वडामा पुगेर लागुऔषध विरुद्ध जनचेतना जगाउन क्रियाशील छ। प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट वडा तहसम्म लागुऔषध नियन्त्रण गर्न सर्वसाधारणमा जनचेतना फैलाउन प्रहरी कार्ययोजना सहित खटिएको छ। यस्तै, नेपाल प्रहरीले विद्यालय उमेरका किशोरकिशोरीलाई लक्षित गरेर लागुऔषध विरुद्ध जनचेतना जगाउने काम गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले बताए। "अहिले कक्षा ११ र १२ का विद्यार्थीमाझ लागुऔषध विरुद्ध जनचेतना जगाउन कक्षा लिइरहेका छौँ। हामी यसरी नै समुदायमा पनि जान्छौँ," उनले भने, "नेपाल प्रहरीको केन्द्रीय कार्यालयले पनि कार्ययोजना बनाएको छ। प्रदेशमा पनि वाक्ययोजना बनाएर हामी लागुऔषध विरुद्धको महाअभियानमा गाउँसम्म पुग्छौँ। यसमा हामी सबै पक्षसँग सहकाॠ गर्छौँ।"

प्रहरीको एकल प्रयासले मात्रै लागुऔषधको कारोबार रोक्न नसकिने भएकाले समुदायले सहयोग गर्नुपर्ने अपेक्षा नेपाल प्रहरीले गरेको छ। कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेकाले लागुऔषधको कारोबार र ओसारपसार रोक्न सरकारी निकाय र समुदायको सहयोग आवश्यक रहेको प्रहरी बुझाइ छ। समुदायबाट कारोबारी अलग्याएर सख्त कारबाही गर्न लागुऔषधका कारोबारीलाई समात्ने र सख्त कानून कारबाहीको दायरामा ल्याउन प्रहरीले काम गरिरहेको डिआइजी बोहराले बताए। अहिले कारोबारीहरूलाई कानून कारबाहीको पाटो व्यापक रुपमा अगाडि बढाएका छौँ," उनले भने, " जनचेतना र कानून कारबाहीले मात्रै हुन्न भनेर दुर्व्यसनीहरूलाई सुधार्न सुधार गृह सञ्चालनमा आउँदै छ।"

जनचेतना र कानूनको कार्यान्वयनले मात्रै लागुऔषधमुक्त समाज निर्माण गर्न सकिन्न भन्ने बुझेको नेपाल प्रहरीले सुदूरपश्चिमका दुर्व्यसनीलाई सुधारेर समाजमा पुनर्स्थापना गर्ने योजना बनाएको छ। धनगढी उपमहानगरपालिकासँग सहकार्य गरेर प्रहरीले फूलबारीमा सुधार गृह सञ्चालन गर्ने भएको छ। उपमहानगरको वडा नम्बर १४ मा सुधार गृह सञ्चालन गर्ने भएको हो। जसका लागि नेपाल प्रहरीले उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ। नेपाल प्रहरीले सुधार गृह सञ्चालनमा ल्याएपछि प्रदेशभरका दुर्व्यसनीहरूलाई सुधार गृहमा राखेर उपचार गरिने छ।

दुर्व्यसनीलाई निको बनाएर समाजमा पुनर्स्थापना गर्ने र कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले समुदायसँग सहकार्य गर्ने नीति लिएको हो।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस