भन्सार छली रोक्न प्रहरी एक्सनमा, २ महिनामा पौने तीन करोडका सामान बरामद

धनगढीः सुदूरपश्चिममा भन्सार छली रोक्न सुदूरपश्चिम प्रहरी एक्सनमा उत्रिएको छ। नेपाल प्रहरीले कैलाली र कञ्चनपुरबाट चालु आर्थिक वर्षको दुई महिनामै पौने तीन करोड मूल्य बराबरमा भन्सार छलीको मालसमान बरामद गरेको छ।
प्रहरीले सीमा क्षेत्रबाट साउन र भदौमा मात्रै २ करोड ७४ लाख ४३ हजार ६१३ मूल्य बराबरको भन्सार छलीको मालसमान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। प्रहरीले साउनमा भन्सार छलीमा संलग्न ३१ जनालाई नियन्त्रणमा लिएको छ भने १ करोड ३ लाख ८८ हजार ६३ मूल्य बराबरको सामान बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेको छ।
यस्तै, भदौमा ८ जना पक्राउ परेका छन् भने १ करोठ २४ लाख ७८ हजार ६२ रुपैयाँ र असोज महिनामा ११ गतेसम्म प्रहरीले तस्करी भइरहेको ४५ लाख ७७ हजार ४८८ मूल्य बराबरको मूल्य बराबरको विभिन्न किराना तथा हार्डवेयर सामान बरामद गरिएको प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले बताए।
प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक बोहराले आर्थिक वर्ष २०७९/०८० मा ४ करोड ४९ लाख ३२ हजार ७०८ रुपैयाँ मूल्य बराबरको सामान बरामद हुँदा प्रहरीले तस्करीमा संलग्न १०३ जनालाई पक्राउ गरिएको बताए। भन्सार छली रोक्न प्रहरीले सक्रियता देखाएकाले यो वर्ष अन्य वर्षको तुलनमा तेब्बरले भन्सार छलीको मालसमान बरामद हुने प्रहरी अनुमान छ।
