सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालनको अनुमति

२०८० असोज ११, १२:५६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनका लागि अनुमति पाएको छ। सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि कक्षा सञ्चालनको अनुमती दिएको हो। चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको छ।

ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो। त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको छ। अब आयोगले कात्तिक १८ गते इन्ट्रान्स लिने र त्यसपछि विद्यार्थी पठाउने जानकारी प्राप्त भएको डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले बताए। माघदेखि कक्षा सञ्चालनको तयारी रहेको छ।

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ। त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ। सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ। भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस