धनगढीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई स्वयंसेवक देवघाटमा बेपत्ता

धनगढी: धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका दुई जना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका छन्।
बिहीबार बिहान ७:३० बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको थियो।
लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्रामा गएका भारतको असम घर भएका अधिकारी थरका र दाहाल थरका अर्का युवा नदीमा डुबेर बेपत्ता भएका लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए।
नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर दुबै जना बेपत्ता भएका भए पनि अन्य तीर्थालुहरू भने सकुशल रहेको उनले बताए। पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको न्यौपानेले बताए। दुबै जनाको प्रहरी टोलीबाट खोजी भइरहेको बताइएको छ।
*परिवारको आग्रहमा बेपत्ता भएका दुबै युवाको नाम हटाइएको छ।-सम्पादक

