चिकित्सकमाथि द्रुव्यवहार गर्नेलाई कारबाही गर्ने निर्णय
काठमाडौँः चिकित्सकमाथि द्रुव्यवहार गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरिएको छ। उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले सो निर्णय गरेको गृह प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।
पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका द्रुव्यवहारका घटनामा संलग्नहरूलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसार सुरक्षा समन्वय समितिको बैठक नियमित राख्ने निर्णय गरिएको छ।
त्यस्तै, देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ अनुसारको कसुर र दण्ड सजाय सम्बन्धी सार्वजनिक सूचना सबैले देख्ने गरी टाँस गर्ने निर्णय गरिएको छ।