सुदूरपश्चिमका तीन संसदीय दलका नेताले गरे गाडी फिर्ता
धनगढीः ऐन विपरीत प्रयोग भइरहेका गाडी सुदूरपश्चिम प्रदेश संसदीय दलका तीनै नेताले फिर्ता गरेका छन्। प्रदेश सभाको सार्वजनिक लेखा समितिले गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन दिएपछि तीन वटै गाडी फिर्ता आएका हुन्।
सत्तापक्षबाट संसदीय दलको नेताको हैसियतले माओवादी केन्द्रका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४३४, एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले से १ झ २७६ र नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरीले से १ झ ३०९ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए। नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता चौधरीले प्रयोग गर्दै आएको गाडी भने केही दिन पहिला फिर्ता गरेका हुन भने भट्ट र सोडारीले ढिलो गरि गाडी फिर्ता गरेका छन्।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐनको पहिलो संशोधन २०७९ को दफा ६ को उपदफा १ ले सत्तारुढ दलका नेतालाई गाडी सुविधा हुने व्यवस्था गरेको थियो। तर, अनुसूची १ बमोजिम सुविधा उपलब्ध गराउनुपर्ने भनिएपनि अनुसूचीमा उक्त व्यवस्था राखिएको थिएन। सोही कारण प्रदेशको सार्वजनिक लेखा समितिले कानुन विपरीत प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन दिएको थियो।