कालिका कन्स्ट्रक्सनले पसल अगाडि माटो थुपार्दा व्यवसायी हैरान
धनगढी: धनगढीमा चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले पसल अगाडि माटो थुपार्दा धनगढीका व्यवसायी हैरान भएका छन्।
धनगढीको मुख्य सडक निर्माणमा ढिलासुस्ती गरिरहेको कालिकाले धनगढीको साल्टट्रेडिङ अगाडिका एक दर्जन पसल अगाडि माटो थुपार्दा व्यापार व्यवसाय ठप्प भएकाले पसल सञ्चालक हैरान भएका हुन्। निर्माण कम्पनीले १२ दिन अगाडि थुपारेको माटो नहटाउँदा पसलमा जान मात्रै होइन हेर्न समेत समस्या भएको मयुर कस्मेटिकका सञ्चालक दिपक साउँदले गुनासो गरे।
निर्माण कम्पनीलाई पटकपटक माटो हटाउन आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको साउँदले बताए। मुख्य सडक निर्माण गर्दा कुनै कुनै ठाउँमा नाली अधुरो छोड्ने गरेको कालिका कन्स्ट्रक्सनले साल्ट्ट्रेडिङ लाइनका १२ पसललाई असर पर्ने गरि थुपारेको माटो व्यवस्थापन गरेको छैन। सडक निर्माणमा ढिलासुस्ती गर्दै आएको कम्पनीले व्यवसायीलाई समेत दु:ख दिने नियतले माटो नहटाएको पसल सञ्चालकहरूले गुनासो गरेका छन्।
व्यवसायीले गुनासो गरेपछि यो विषयमा कुरा बुझ्न खोज्दा निर्माण कम्पनीका सम्पर्क व्यक्ति प्रकाशचन्द्र खरेलले फोन उठाएनन्। निर्माण कम्पनी धनगढीमा बनाइरहेका सडकमा अधुरो काम लामो समयसम्म छोड्ने गरेका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।