सुदूर नेपाललाई विश्वसँग जोड्दै

...अनि अचानक परे कञ्चनपुरका वडाध्यक्ष नै पक्राउ

२०८० असोज ८, ०७:०८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक वडाअध्यक्ष पक्राउ परेका छन्। झाडी सफाइको नाममा रूख काटेपछि वडाअध्यक्ष नै पक्राउ परेका हुन्। जिल्लाको बेलौरी छोटी भन्सार कार्यालयपरिसरभित्र रहेको झाडी सफाइका नाममा रूख काटेको आरोपमा वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका छन्।

डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार साँझ बेलौरी नगरपालिका–६ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले अनुमतिविनै रूख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको बताए। संघीय सरकारमातहत रहेको बेलौरी छोटी भन्सार सञ्चालनका लागि साउन १३ गते वडाकै अगुवाइमा झाडी सफाइ गरिएको थियो।

झाडी सफाइका क्रममा सरकारी कार्यालयपरिसरभित्र रहेका रूख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरीविरिुद्धमा उजुरी गरेपछि वनले वडाध्यक्ष चौधरीलाई बयानका लागि भनेर नियन्त्रणमा लिएको छ। भन्सार क्षेत्रबाट काटिएको रूख र दाउरा समेत वनले नियन्त्रणमा लिएको छ। सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको बताए।

कैलाली भन्सार कार्यालयमातहत रहेको बेलौरी छोटी भन्सार कार्यालयपरिसरमा रहेका रूख काटेपछि भन्सारसमेत रुष्ट भएको छ। भन्सारले वनलाई रूख कटानी गर्नेमाथि कारबाहीको माग अघि सारेर पत्राचार गरेको थियो। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले अनुमतिविनै रूख कसैले पनि काट्न नपाउने बताए। झाडी सरसफाइका नाममा अनुमतिविनै कसैले पनि आरा नै लगाएर रूख काट्न नपाइने संरक्षणकर्मीहरु बताउँछन्।

सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउदले कसैले पनि पर्यावरणविरुद्ध गतिविधि गर्न नहुने बताइन्। झाडी सफाइ गर्न पाइए पनि प्रक्रियाविनै रूख काट्न नपाइने उनले बताए। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले भन्सार कार्यालयपरिसरभित्र रहेको झाडी सफाइका क्रममा रूख काटिएपछि वडाध्यक्षले सूचना नै जारी गरेकाले उनीविरुद्धमा मुद्दा दायर भएको बताए।

वन नियमावली, २०७९ को नियम ३७ अनुरूप वनविरुद्धको गतिविधि गर्दा वडाध्यक्ष पक्राउ परेका हुन्। २०७९ बैशाख ३० गते सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित चौधरी स्थानीय एमाले नेता हुन्। उनी पक्राउ परेपछि पक्ष–विपक्षमा बहस भइरहेको छ।

कमेन्ट लोड गर्नुस