सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सार्वजनिक जमिन अतिक्रमणको चपेटामा

२०८० असोज ६, ०३:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा सार्वजनिक जमिन अतिक्रमण हुँदै आएको छ। शुक्लाफाँटा नगरपालिका–५ मा रहेको सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा परेको हो। सशस्त्र प्रहरी गण पछाडि पट्टीको ४० बिघा जग्गा संरक्षणमा कुनै पनि निकायले ध्यान नदिदा अतिक्रमणको चपेटामा परेको छ।

अहिलेसम्म दुई बिघा बढी जग्गा अतिक्रमण भइसकेको छ। सार्वजनिक जग्गामा रहेका साल, साज लगायतका रुखहरु अबैध रुपमा कटानी हुने क्रम बढेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सार्वजनिक जग्गालाई उपयोगमा ल्याउन जनप्रतिनिधिले चासो देखाउनुपर्नेमा कुनै काम नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

स्थानीय तप्त ठकुल्लाले सार्वजनिक जग्गा संरक्षणमा कुनै पहल नभउको गुनासो गरेका हुन्। केही वर्षअघि खेलकुद मैदान निर्माणका लागि अघि बढाइएको भए पनि निर्माणले पुर्णता पाउन सकेको छैन्। तर जग्गाको स्वामित्व नगरपालिकाले ग्रहण गर्न मन्त्रालयमा फायल बुझाएको वडाध्यक्ष चक्रबहदुर खडकाले बताए।

मन्त्रालयले विस्तृत आयोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन गरेर ल्याउने कार्यसँगै एक रुख बराबर १० विरुवा रोप्ने रकम जम्मा गर्न भनेपछि त्यसका लागि काम भइरहेको उनको दाबी छ। वडाका जनप्रतिनिधिसँगै जग्गा संरक्षणका लागि सबैको हातेमालो हुन आवश्यक रहेको उनले बताएका हुन्। स्टेडियम निर्माण भए अलपत्र परेको जग्गाको संरक्षण र उपयोग दुवै हुने अपेक्षा गरिएको छ। –रासस

कमेन्ट लोड गर्नुस