सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिक आडमा पटक–पटक प्रमुखको सरुवा हुँदा सुदूरपश्चिमका ठुला आयोजना अलपत्र

२०७६ वैशाख १३, ११:२० नवराज पनेरु

सुदुरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको मोहनापुल अत्तरिया ६ लेन सडक योजनामा मात्रै झण्डै तीन बर्षको अवधीमा ४ जना प्रमुखले जिम्मेवारी पाएका छन्। सुरुवातमा नविनमान श्रेष्ठलाई प्रमुखको जिम्मेवारी दिइएकोमा त्यसपछि मनिष शाह, राजेश पौडेल र अहिले हेमवहादुर ऐसीलाई जिम्मेवारी दिईएको छ। राजेश पौडेलको सरुवा भएको झण्डै एक महिना पुग्नै लागेको छ। तर अहिले सम्म नयाँ प्रमुख एसी भने कार्यालयमा उपस्थित हुनु भएको छैन्। जस्ले गर्दा ६ लेन सडक निर्माणको अवधी सकिनै लागेका बेला निर्माणमा तिव्रता दिन सकिएको छैन्। अव नयाँ प्रमुख आएर आयोजना बारे बुझ्ने बेला सम्म निर्माण अवधी नै सकिने देखिएको छ। आयोजनाका ईन्जिनियर खगेन्द्र शाहीले प्रमुख नहुँदा योजनाका निर्माणलाई तिव्रता दिन समस्या भएको बताए। 
राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनामा पनि अहिले सम्म ४ जनालाई प्रमुखको जिम्मेवारी दिईसकिएको छ। सुरुमा सडक विभागले हेरेको आयोजना त्यसपछि तुरुन्त मण्डललाई आयोजना प्रमुख तोक्दै पठाईयो। त्यसपछि ६ लेन सडक आयोजनाका तत्कालिन प्रमुख मनिष शाहलाई नै दोहोरो जिम्मेवारी दिदै हुलाकी सडक हेर्ने जिम्मा दिईयो। अहिले उनको पनि सरुवा भएपछि नयाँ आयोजना प्रमुख भएर रामपुकार जैसवाल आएका छन्। पटक–पटक आयोजना प्रमुख फेरिदा आयोजना काम अगाडी बढाउन भने समस्या भईरहेको आयोजनाका प्रमुख जैसवालले बताए। 

राष्ट्रिय गौरवको अर्को आयोजना रानीजमरा कुलरीया सिंचाइ आयोजनामा पनि अहिले सम्म ५ जनाले आयोजना प्रमुखको जिम्मेवारी पाईसकेका छन्। गौरवको आयोजना भएपनि नयाँ प्रमुखलाई आयोजना बारे बुझ्नै धेरै समय लाग्ने गरेको छ। कतिपयको त आयोजनाको बारेमा बुझ्न नपाउँदै पनि सरुवा हुने गरेको छ। रानीजमरा कुलरीया सिंचाइ आयोजनाका प्रमुख मधुकर राना पनि प्रमुखको पटक–पटक सरुवा हुँदा कार्यान्वयनमा समस्या भईरहेको बताए। उनले सरुवाको समयमा दुई प्रमुखविच समन्वय राम्रो भए ठुलै समस्या नहुने भएपनि पटक–पटक सरुवा हुँदा आयोजना बारे बुझ्दैमा समय गईरहेको बताए। सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै ठुला आयोजना मध्ये सबैभन्दा राम्रो प्रगती भएको आयोजनामा पर्छ गेटा मेडिकल कलेज। गेटा मेडिकल कलेजमा भौतिक प्रगति उत्साहजनक हुनुमा एउटा महत्वपूर्ण कारणका रुपमा साढे तीन बर्ष सम्म एकै जनाले मेडिकल कलेज पुर्वाधार विकास समितिको कार्यकारी निर्देशक पाउनुलाई पनि हेरिएको छ। वतावरणीय प्रभाव मुल्याङकन समेत नभएको समयमा कार्यकारी निर्देश भएर आएका हेमराज पुजाराले सबै प्रक्रिया पुरा गर्दै भौतिक पुर्वाधार निर्माणमा तिव्रता दिन सफल भए। तर उनको पनि सरुवा गरिएपछि अव गेटा मेडिकल कलेज निर्माणको अवस्था के हुने हो ? भन्ने आशंका बढेको छ। गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिको कार्यकारी निर्देशकबाट भर्खरै सरुवा हभएका पुजाराले लामो समय सम्म एकै जनाले प्रमुखको जिम्मेवारी पाए कार्यालय प्रमुखलाई पनि काम गर्न दवाव श्रृजना हुने बताए। 

यस बाहेक सेती लोकमार्ग, महाकली करिडोर, महाकाली पुल लगायत सुदूरपश्चिम प्रदेशको कोल्टे फेर्न सक्ने आयोजनामा पटक–पटक प्रमुखको सरुवा हुँदा महिनौ सम्म निर्माणको काम नै ठप्प हुने समस्या छ। विगतमा ठुला आयोजनामा निर्माण सम्पन्न नभएसम्म आयोजना प्रमुखको सरुवा गर्न नपाउने नीति अबलम्वन गर्नुपर्ने पनि चर्चा हुँदै आएको छ। तर त्यो चर्चा भने अहिले सेलाएको छ। राजनीतिक आडमा पटक–पटक प्रमुखको सरुवा हुँदा सुदूरपश्चिमका ठुला आयोजनाहरुको निर्माणमा तिव्रता दिन चुनौती थपिएको छ। राष्ट्रिय गौरवका आयोजनादेखि अन्य ठुला आयोजनाहरुमा पनि राजनीतिक दलका नेताहरुको दौडधुपले प्रमुखको पटक–पटक सरुवा भएको छ। लामो समय सम्म प्रमुखको सरुवा नभएको आयोजनामा प्रगती निकै उत्साहजनक देखिएपनि पटक–पटक सरुवा हुने आयोजना भने अलगभ अलपत्र छन्। यस क्षेत्रका जिल्ला स्तरीय नेतासंगै यो क्षेत्रबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरुले पनि काम गर्ने आयोजना प्रमुख भन्दा पनि आफु र आफ्नो पार्टी निकटका कर्मचारी ल्याउन दौडधुप गर्ने गरेका छन्।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस