सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्दोलनको तयारीमा स्थानीय तहका कर्मचारी

२०८० असोज ४, ०७:०४ खबर संवाददाता

काठमाडौँ: आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका छन्।

आन्दोलनका संयोजक दीपक गौतमका अनुसार प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेर हद लागु हुन नहुने, समायोजन भएकाहरूको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागिएको हो।

त्यस्तै सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरूको छ। ‘स्थानीय तह कर्मचारी सरोकार फोरम’को संयोजनमा विभिन्न माग राख्दै आन्दोलनको तयारी भएको हो।

प्रस्तावित आन्दोलनका कार्यक्रम अनुसार ७ असोजमा जिल्ला स्तरीय सङ्घर्ष समितिको संयोजनमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मागपत्र बुझाउने तयारी छ। त्यसपछिका माग सम्बोधन नहुँदाका दिनसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र कार्यालयमा ठूलो ब्यानर टाँसेर आधा दिन ‘पेन डाउन’ गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ।

यसबीचमा राष्ट्रिय मान्यता प्राप्त दलका नेता र प्रमुख सचेतक समक्ष मागपत्र बुझाएर ध्यानाकर्षण गराउने र राष्ट्रिय स्तरका ट्रेड युनियनसँगको समन्वयमा सशक्त आन्दोलनको तयारी गर्ने योजना छ।

१२ असोजदेखि काठमाडौं केन्द्रित भएर सशक्त आन्दोलन सुरु गर्ने र प्रत्येक पालिका, वडा कार्यालयमा ‘पेन डाउन’ गर्दै सिंहदरवार अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम अघि सारिएको छ। संयोजक गौतम प्रस्तावित कार्यक्रमअनुसार नै निर्णय हुने र आन्दोलन अघि बढ्ने बताउँछन्।

कमेन्ट लोड गर्नुस