सुदूर नेपाललाई विश्वसँग जोड्दै

गणेश चौथी र ऋषिपञ्चमी एकै दिन

२०८० असोज २, ०६:१८ खबर संवाददाता

गणेश चौथी र ऋषिपञ्चमी मगलबार एकैदिन मनाइँदैछ। पञ्चांग निर्णायक विकास समितिद्वारा स्वीकृतिप्राप्त पञ्चांगमा १२ घडी २५ पला अर्थात् बिहान १० बजेर ४९ सम्म चतुर्थी तिथि रहने र त्यसपछि मात्र पञ्चमी तिथि लाग्ने पञ्चांगमा उललेख छ

भाद्र शुक्ल चतुर्थीलाई भगवान् गणेशको जन्मदिन मानिएको छ। यो अवसरमा भगवान् गणेशको पूजाआराधना, रथयात्रा आदि गर्ने परम्परा छ। मंगलबार चतुर्थी तिथि परेको दिनलाई मंगल चौथी पनि भनिन्छ। यो दिन पनि भगवान् गणेशको आराधनाका लागि उपयुकत दिन मानिन्छ।

भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी। सनातन धर्मावलम्बी महिलाको विशेष पर्व। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग ९दतिवन० प्रयोग गरी स्नान गर्ने परम्परा छ।

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्। यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ।  

कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठलाई सप्तऋषि भनिन्छ। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ।सप्तऋषिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तऋषिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छ भन्ने मान्यता छ।

ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधान छ। पूजा सकी महिलाहरू कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस