सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले सामाजिक कार्य गर्ने व्यक्तिलाई गर्‍यो  सम्मान

२०८० असोज १, ०४:५६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको छ।

उपमहानगरको ९ औं स्थापना दिवसको अवसरमा सोमबार बढी कर तिर्ने साल्ट ट्रेडिङ कम्पनी लिमिटेडलाई सम्मानित गरिएको छ। यस्तै, सबैभन्दा बढी बहाल कर तिर्ने निसर्ग हस्पिटललाई पनि सम्मानित गरिएको छ।

उपमहानगरले स्थापना दिवसको अवसरमा उत्कृष्ट मेलमिलापकर्ता वडा नम्बर १३ का चुडामणि जोशी र वडा नम्बर ५ का देवकीकुमारी चटौतलाई जनही नगद २५ हजार र प्रशंसापत्रसहित सम्मानित गरेको हो।

उपमहानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा वडा नम्बर २ की लिला तिमिल्सिनालाई नगद २५ हजार र प्रशंसापत्र सहित सम्मानित गरेको छ। यसैगरी, विषयगत कार्यालय तर्फ नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र, उत्कृष्ट उपभोक्ता समितिका रुपमा वडा नम्बर १० सरौटा चोकको सार्वजनिक शौचालय निर्माण उपभोक्ता समितिलाई सम्मान गरिएको छ।

यस्तै, निर्माण व्यवसायी तर्फ पिएस कन्स्ट्रक्सन प्रालि डिल्लीबजार, सामाजिक कार्यमा उत्कृष्ट कार्य गरेकोमा वडा नम्बर ५ का लालबहादुर खड्का र सामुदायिक वन तर्फ वडा नम्बर ७ को पटेला सामुदायिक वन उपभोक्ता समितिलाई सम्मानित गरिएको हो।
 

कमेन्ट लोड गर्नुस