सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्य सडक निर्माणको काम अलपत्र, व्यापार व्यवसाय चौपट

२०८० असोज १, १२:५९ कमल सावद

धनगढीः एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा धनगढी उपमहानगरपालिकामा निर्माणाधीन सडकको काम अलपत्र छ। निर्माण कम्पनीले समयमै काम नगर्दा निर्माणाधीन सडकमा हिलो र धुलोले सास्ती व्यहोर्नु परेको छ। धनगढीको मुख्य बजारस्थित ट्राफिक चौराहादेखि कैलाली पुलसम्म पुरानो कालोपत्र भत्काइएको छ। पुरानो कालोपत्र भत्काएर थप काम नगर्दा आवतजावतमा समस्या भइरहेको चालकको गुनासो छ।

निर्माणाधीन सडकमा हुने हिलो र धुलोले बजार क्षेत्रको व्यापार–व्यवसाय समेत चौपट बन्न पुगेको व्यवसायीले गुनासो गरेका हुन्। मुख्य बजार क्षेत्रमा नाली बनाएपछि कालोपत्र भत्काउन सुरु गरिएको हो। पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले ७६ करोड ९० लाख ७६ हजारमा धनगढी उपमहानगरभित्र नाली, फुटपाथ र सडक बत्तीसहितको १० किलोमिटर बढी सडक निर्माणको ठेक्का लिएको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सडक निर्माणको काम भइरहेको छ। तर, तेस्रोपटकको म्याद सकिनै लाग्दा पनि कामले तीव्रता पाउन सकेको छैन। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका अनुसार दुई वर्षभित्र काम पूरा गर्ने सर्तसहित २०७७ असार २८ गते कालिकासँग सम्झौता भएको थियो। 

तेस्रोपटकको म्याद आगामी १४ कात्तिकमा सकिँदै छ। तर हालसम्म करिब ८१ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर सौरभ कलौनीले बताए। धनगढी–गुल्म जोड्ने दुई किलोमिटर सडक ग्राभेलका लागि गिट्टी राखिएको लामो समयदेखि अलपत्र छ। पीपलचौतारा–जाई, सहिदगेट–क्याम्पस चोक सडक कालोपत्रे भए पनि कालोपत्रे फिनिसिङ गर्ने, फुटपाथ बनाउनेलगायत काम अधुरै छन्।

कालिका कन्स्ट्रक्सनले भने क्षेत्राधिकारको विवादले काममा ढिलाइ भएको दाबी गरेको छ। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले बत्ती, बिरुवा र चिनीया दुबो रोप्ने काम थप गरिएकाले तोकिएकै समयमा सडक निर्माणको काम नसकिने बताए। उनले भने, ‘कात्तिक अन्तिमसम्म म्याद थप भएको छ। नयाँ काम थप गर्ने निर्णय भएको छ।’ धनगढीमा निर्माण थालिएका सातवटा सडकमा १५ वटा हाइमास्ट तथा १० किलोमिटर स्मार्ट स्ट्रीट लाइट जडान, वृक्षारोपण र चिनियाँ दुबो लगाउने निर्णय भएको छ।

धनगढी उपमहानगरपालिकाको माग अनुसार कन्सल्टेन्सीले आयोजना कार्यान्वयन इकाईलाई स्वीकृतका लागि फाइल पठाएको छ। तर, स्वीकृत भएको छैन। हाइमास्ट र स्मार्ट स्ट्रीट लाइट जडान गर्न स्वीकृतका लागि समय लागे थप गरिएको समयमा समेत सडकको काम पूरा नहुने निर्माण कम्पनीको दाबी छ। उनले भने, ‘लाइटको स्वीकृत भएको छैन। हामीले अडर पनि गरेका छैनौ।

सहरी विकासले निर्णय गरेको छैन। पुरानो काम २ महिनामा सकिन्छ। तर, बत्तीको काम सकिदैन। स्वीकृत भएको तीन महिनामा काम सक्छौ।’ धनगढीको राष्ट्र बैँकदेखि पिपल चौतारासम्म जडान गरिएका ६० वाटका बत्तीको स्थानमा १२० वाटमा बत्ती जडानका लागि नयाँ निर्णय भएको छ।

कात्तिक अन्तिमसम्म सडक निर्माणको थप गरिएको समयसीमा हो। स्वीकृत पाएको कम्तीमा तीन महिनामा मात्र बत्ती जडानको काम सकिनेछ। पुराना सडक निर्माण, खानेपानी र विद्युतका पोल सार्ने काम भने निर्माण कम्पनीले दुई महिनाभित्र पूरा गर्ने दाबी गरेको छ। गुल्म–चर्च सडकमा एक किलोमिटर र धनगढी मुख्य सडक बाहेक अन्य सडकको काम लगभग सकिएको छ।

कालिका कन्स्ट्रक्सनका प्रतिनिधि खरेलले भारतबाट लाइट ल्याउन समय लाग्ने बताए। धनगढी उपमहानगरपालिकाको आग्रहमा साढे तीन करोडका हाइमास्ट र स्मार्ट लाइट, वृक्षारोपण र चिनीया दुबो लगाउने योजना थप गर्ने निर्णय भएको हो। डिजाइनमा भएका विद्युतका पोल साना भएपछि उपमहानगरपालिकाले पोलका लागि रकम थप गरेको हो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस