सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सवारीसाधन चोरी गर्ने समुह सक्रिय

२०८० भदौ ३१, १०:४१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट गत साउनमा मात्र दुईवटा मोटरसाइकल चोरी भयो। धनगढी उपमहानगरपालिका–७ मनेहराका ३० वर्षीय हरिचन्द्र जोशीको घरमा पार्किङ्ग गरीराखेको सुदूरश्चिम प्रदेश ०१००८ प ९१३० नम्बरको मोटरसाइकल गएराति चोरी भएको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–७ जोख्खर तालका खेमराज जोशीको घरबाट पनि पार्किङ्ग गरीराखेको बा ८२ प ९७६४ नम्बरको मोटरसाइकल चोरी भएको विषय यसअघि नै बाहिर आएको थियो। कालो कलरको २ सय सीसी अपाची मोटरसाइकल चोरी हो। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। सुदूरपश्चिम प्रदेशभित्र यसरी सवारीसाधन चोरी गर्ने समुह नै सक्रिय रुपमा देखा परेको छ।

घर तथा पार्किङ गरेको स्थानबाटै सवारीसाधन चोरी गर्ने समुह पछिल्लो समय सक्रिय देखिएको हो। विशेष गरी कैलाली र कञ्चनपुरमा यस्तो समुह बढी सक्रिय देखिएको छ। घरभित्रै राखिएका सवारीसाधन समेत चोरी हुन थालेपछि सवारीधनीले असुरक्षाको महसुस गर्न थालेका छन्। सवारीसाधन सबैभन्दा बढी धनगढीमा चोरी हुने गरेका घटना पटकपटक दोहारिने गरेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २४ सवारीसाधन चोरी भएको जनाएको छ। ठुलो संख्यामा सवारीसाधन चोरी हुने गरेको भए पनि संलग्नहरु भने पक्राउ पर्ने गरेका छैनन्। आर्थिक वर्ष २०७८/७९ मा मात्र थप २० वटा सवारीसाधन चोरी भएको प्रहरीको अभिलेख छ। सबैभन्दा बढी मोटरसाइकल चोरी हुने गरेको पाइएको छ।

यसका साथै जिप, कार, ठुला मालवाहक सवारीका पार्टपुर्जा नै चोर्ने काम समेत हुने गरेको चालकहरुको गुनासो छ। चोरीमा संलग्न गिरोहले गत वर्ष अर्थात आर्थिक वर्ष २०७९/८० मा थप १७ वटा सवारीसाधन चोरी भएको विषय प्रहरीमा दर्ता भएको छ। यसरी पछिल्लो तीन वर्षको अवधिमा मात्र ६१ वटा सवारीसाधन चोरी भएको विवरण दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांक छ।

लुकीछिपी सवारीसाधन चोरी गर्ने गिरोह सक्रिय भएपछि आफुसँग भएको सवारीसाधन जोगाउन मुश्किल हुने गरेको सवारी चालकको गुनासो छ। चोरहरुले गाडीका टायर समेत निकालेर लैजाने गरेको उनीहरुको गुनासो छ। यसका लागि प्रहरीले निगरानी बढाएको दाबी गर्दै आए पनि चोरी कार्यमा संलग्नहरु भने पक्राउ पर्न सकेका छैनन्। झन धनगढी, अत्तरिया, महेन्द्रनगर लगायका सहरमा साइकल समेत सबैभन्दा बढी चोरी हुने गरेको पाइएको छ।

कमेन्ट लोड गर्नुस