सुदूर नेपाललाई विश्वसँग जोड्दै

पौने २९ करोडको धनगढी होल्डिङ सेन्टरमा अब बालरोग अस्पताल!

२०८० भदौ २९, ११:०७ खबर संवाददाता

धनगढीः बुधबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले कैलालीको धनगढीस्थित त्रिनगर नाका नजिक निर्माण गरिएको होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरे। धनगढी उपमहानगरपालिकाको अनुरोधमा सो होल्डिङ सेन्टरमा बालरोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको अस्पताल चलाउन डाक्टर कोइरालासहितको टोलीले सेन्टरको अनुगमन गरेको हो।

कोरोना महामारीका वेला भारतबाट स्वदेश फर्कने कोरोना संक्रमितलाई राख्नका लागि बनाइएको होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन बन्न पुगेपछि बालरोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको अस्पताल चलाउन उपमहानगरले पहल थालेको हो। २८ करोड ८१ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको यो होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम छ।

कोरोना संक्रमणको अवस्था सामान्य भएकाले होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगमा आएको छैन। कोरोना संक्रमणको दोस्रो लहरमा सम्भावित महामारीको अवस्थालाई ध्यानमा राखेर सरकारले नाकानजिक होल्डिङ सेन्टर निर्माण गरेको थियो। नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको हो।

२० वटा क्वारेन्टिन, दुईवटामा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण गरिएका छन्। जगभन्दा माथि प्रिफ्याबको भित्ता र टिनको छानासहितका ब्लक निर्माण गरिएका छन्। १४ वटा क्वारेन्टिन ब्लकमा तीन सयवटा शय्या राखिएका छन्।

होल्डिङ सेन्टरलाई बाल रोग र स्त्रीरोग विशेषज्ञ सेवा सहितको अस्पतालको रूपमा विकास गर्न धनगढी उपमहानगरपालिकाले डाक्टर भगवान कोइरालालाई अनुरोध गरेको थियो। केही महिना देखिको प्रयास र संवादपछि उपमहानगरको अनुरोधमा बुधबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर कोइराला लगायतको टोलीले होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेका छन्।

एक हजार शय्याको होल्डिङ सेन्टरमा बालरोग अस्पताल सञ्चालन गर्न डाक्टर कोइरालाले चासो दिएका छन्। धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामीको अत्यधिक चाप हुने गरेकाले सर्वसाधारणले पचार पाउन निकै सास्ती खेप्नुपर्छ। बालबालिका र महिलाको उपचार सहज होस् भनेर बालरोग र स्त्रीरोग विेशेषज्ञ सेवासहितको अस्पताल चलाउन पहल थालिएको हो।

डाक्टर कोइरालाले सुदूरपश्चिममा बाल अस्पताल चलाउन चाहेकाले होल्डिङ सेन्टरको अनुगमन गरिएको नगर प्रमुख गोपाल हमालले बताए। बालरोग तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बन्ने हो भने यस क्षेत्रको स्वास्थ्य सेवामा निकै ठुलो योगदान पुग्ने सरोकारवाला बताउँछन्। यसका लागि डाक्टर भगवान कोइराला आफैले सक्रियता देखाउनु सुदूरपश्चिमको स्वास्थ्य सेवाका लागि अर्को महत्वपुर्ण विषय हो।

कमेन्ट लोड गर्नुस