सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सबै डिभाइडर हटाइए, ६ लेन सडकको अवरोध हट्यो

२०८० भदौ २८, १०:१२ खबर संवाददाता

धनगढीः धनगढीमा राखिएका सबै डिभाइडर हटाइएको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रका सबै डिभाइडर हटाइएको हो। ६ लेन सडकको अवरोधका रुपमा रहेका सबै डिभाइडर हटाएर सडक फराकिलो बनाउने काम भएको छ। ६ लेन सडक अन्तर्गत मोहनापुलदेखि गेटा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सबै डिभाइडर हटाइएको छ।

डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै चालक र स्थानीयले व्यापक गुनासो गर्दै आएपछि उपमहानगरपालिकाको पहलमा सडक दायाँबायाँ राखिएका सबै डिभाइडर हटाइएको हो। सयौँको संख्यामा राखिएका डिभाइडर हटाउने काम भएपछि अहिले सडक फराकिलो बन्नुका साथै सडकमै गाडी पार्किङ गर्नेक्रम पनि घटेको छ।

साथै रातिको समयमा डिभाइडरका कारण हुन सक्ने दुर्घटनाको जोखिम पनि कम भएको चालकहरु बताउँछन्। सडकमा राखिएका डिभाइडरले विशेष गरी रातिको समयमा दुर्घटनाको भय हुने गरेकोमा हटाइएपछि अवरोध हटेको अनुभुति भएको धनगढी–महेन्द्रनगर यात्रुवाहक सवारी सञ्चालन गर्दै आएका चालक विष्णुदत्त रावतले बताए।

यसअघि डिभाइडरको सहायतामा मनलाग्दी रुपमा सवारी पार्किङ समेत हुने गरेकोमा अब त्यस्तो अवस्था चाहेर पनि संभव नभएको उनले बताए। ‘धनगढी क्षेत्रका त सबै डिभाइडर हटे तर गोदावरी नगरपालिकाभित्रका पनि तत्काल हटाउन पहल गर्नुपर्छ।’ डिभाइडरका कारण सडक साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढी हुने भएका कारण यस्ता ठुला सडकमा अवरोध हुने गरी कुनै पनि वस्तु राख्न नहुने चालकहरु बताउँछन्।

सडक लेनको पालना चालक, पैदलयात्री आफैले गर्नुपर्ने ट्राफिक प्रहरी बताउँछ। सबैले ट्राफिक नियमको पालना गरेर मात्र सडकको प्रयोग गर्ने हो भने दुर्घटनामा अपत्यारिलो रुपमा कमि आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस