सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालन गर्ने उपमहानगरको पहल

२०८० भदौ २७, ०७:१८ खबर संवाददाता

धनगढीः कोभिडको समयमा निर्माण भएको धनगढी उपमहानगरपालिका–३ मा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनको पहल थालिएको छ। धनगढी उपमहानगरपालिकाको अनुरोधमा होल्डिङ सेन्टरमा बालरोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको अस्पताल चलाउन डाक्टर भगवान कोइरालाले होल्डिङ सेन्टरको अनुगमन गरेका हुन्।

क्वारिन्टिन र आइसोलेसनका लागि धनगढी उप–महानगरपालिका–३ बडहरामा नेपाल सरकारले निर्माण गरिएको होल्डिङ सेन्टर लामो समयदेखि खाली एवं प्रयोग बिहिन थियो। होल्डिङ सेन्टरलाई बाल रोग र स्त्रीरोग विशेषज्ञ सेवा सहितको अस्पतालको रूपमा विकास गर्न धनगढी उपमहानगरपालिकाले डाक्टर भगवान कोइरालालाई अनुरोध गरेको थियो।

केही महिना देखिको प्रयास र संवाद (छलफल) पछि धनगढी उपमहानगरपालिकाको अनुरोधमा बुधबार वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला लगायतको टोलीले होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेका छन्। एक हजार शय्याको होल्डिङ सेन्टर लामा समयदेखि अलपत्र छ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामीको अत्यधिक चाप हुने गरेकाले सर्वसाधारणले पचार पाउन निकै सास्ती खेप्नुपर्छ। बालबालिका र महिलाको उपचार सहज होस् भनेर बालरोग र स्त्रीरोग विेशेषज्ञ सेवासहितको अस्पताल चलाउन पहल थालिएको हो। डाक्टर कोइरालाले सुदूरपश्चिममा बालअस्पताल चलाउन चाहेकाले होल्डिङ सेन्टरको अनुगमन गरिएको नगर प्रमुख गोपाल हमालले बताए।

कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकालाई राख्ने उद्देश्यले सो होल्डिङ सेन्टर निर्माण गरिएको थियो। होल्डिङ सेन्टरलाई अब के बनाउने भन्ने टुङ्गो लाग्न नसक्दा प्रयोगमा आउन सकेको छैन्। २०७८ जेठमा निर्माण सकिएको एक हजार शय्याको होल्डिङ उपयोगविहीन छ। कोरोना महामारीको बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको थियो।

कमेन्ट लोड गर्नुस