सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँघर छोड्दै सीमा नाकामा लस्कर, किन गरिन्छ गरिबीलाई बेवास्ता?

२०८० भदौ २७, ०२:३० खबर संवाददाता

धनगढीः आफ्नो गाउँघर छोड्दै खान र लाउनकै लागि सीमा नाकामा गरिबीको लस्कर सधै देख्न पाइन्छ। स्वदेश फर्कने भन्दा गाउँघर छोड्नेको भीड सीमा नाकामा निकै ठुलो देखिने गरेको छ। कैलालीको जानकी गाउँपालिकाका रामकिसन चौधरी सोमबार त्रिनगर–गौरिफन्टा नाकामा निराश भएर लाइनमा थिए। मजदुरीका लागि भारत पस्ने तयारीमा रहेका उनले गरिबीका कारण एसईईपछि पढ्न नपाएको गुनासो पोखे।

’पढ्ने इच्छा त थियो तर घरको अवस्था नाजुक भएपछि गुजारा चलाउन भारत गइरहेको छु,’ उनले भने। उच्च शिक्षा लिने रहर त्यागेर डोटीका किशोर भट्ट भारी मन बनाउदै रोजगारीका लागि भारत जाने तयारीमा सीमा नाकामै भेटिए। पढाइलाई निरन्तरता दिन नसक्दा २२ वर्षका भट्ट परिवारको खर्च धान्ने जिम्मेवारी बोकेर भारत छिर्न लागेका हुन्। यो दयनीय नियति बोकेर परदेश होमिने रामकिसन र किशोर मात्रै थिएनन्।

सुदूरपश्चिमका गौरीफन्टा र गड्डाचौकी नाकाबाट काम खोज्न दिनहुँ यसैगरी सयौँको संख्यामा नेपाली भारत छिरेका छन्। आफ्नो गाउँघर छोडेर भारत पस्ने किशोरको संख्या पनि अधिक देखिएको छ। सुदूरपश्चिमका सात पहाडी तथा जिल्लामा पढाई छाडेर भारत पस्ने क्रम बढी छ। पढाई खर्चको अभाव एकातिर, अर्कातिर परिवारमा हातमुख जोर्नै समस्या हुँदा काम खोज्दै भारत छिनुपर्ने बाध्यता रहेको गौरीफन्टा नाकामै भेटिएका हरिश बिष्टले गुनासो गरे।

तीन तहको सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गर्दै आएका छन्।  तर स्वरोजगारका कार्यक्रम त भए पनि कार्यान्वयनमा कसैले चासो नदिएको गाउँघर छोड्नेहरुको गुनासो छ। पछिल्लो समय प्रदेश र स्थानीय सरकारले समेत रोजगारीका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य गर्ने रटान नै लगाएका छन्। तर, कार्यान्वयनमा केहि पनि नहँुदा बुढा बा आमा र बालबच्चालाई छोडेर भारत पस्नेहरुको विगतका वर्षहरु झै यस पटक पनि दोहोरिएको छ।
समृद्धि–यात्रामा गरिबीको बेवास्ता
गरिब र गरिबीको बहस सूचकहरूका आधारमा गर्ने कि नागरिकको जीवनमा बदलाव आएको छ–छैन यकिन गरेर गर्ने? छलफल, विमर्श आवश्यक छ। केही वर्षयताका सूचकहरू हेर्दा गरिबीको रेखामुनि रहेको जनसंख्या क्रमशः घट्दो छ। गरिबको संख्या घट्नु र अवस्था सुध्रिनु कसका लागि सुखद नहोलार !

तर, दुर्भाग्य के भने अहिले पनि सहरबजारभन्दा बाहिरका नागरिकको ठूलो हिस्साको दुःखको पहाड कम छैनन्। संरचनागत रूपमा बहिष्करणमा रहेको समुदायको अनुहारमा परिवर्तनको झल्को अझै देखिँदैन। आज पनि बहुसंख्यक नागरिकले आधारभूत स्वास्थ्य र शिक्षाको गुणस्तरीय सेवा पाउन सकेका छैनन्। तथ्यांकहरूमा घटिरहेको देखिने गरिबी ग्रामीण जनजीवनमा घटेको किन अनुभूति हँुदैन? केही प्रश्नको जवाफ सामूहिक रूपमै खोज्नुपर्ने बेला आइसकेको छ।

कमेन्ट लोड गर्नुस