सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्य तीन नाका भएर भारतबाट एकैदिन भित्रिए ४१४ जना

२०८० भदौ २६, ०७:२१ अनिता चौधरी

धनगढीः भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका प्रमुख तीन नाका भएर एकैदिन चार सय १४ जना स्वदेश फर्किएका छन्। चाडवर्प नजिकिदै गर्दा कामको शिलशिलामा भारतका विभिन्न सहर पसेकाहरु दैनिक रुपमा स्वदेश फर्कने क्रम बढेको छ। प्रदेशका प्रमुख तीन नाका भएर आज (मंगलबार) मात्र चार सय १४ जना भित्रिएको तथ्यांक प्राप्त भएको छ।

छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किनेहरु यतिबेला सीमा नाकामा भीडभाड बढेको छ। रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्चिमेलीहरु अहिले हिन्दु नारीहरुको महान चाड हरितालीका तीज, दशैँ लगायत थारुहरुको अटवारी पर्व नजिकिँदै गर्दा घर फर्किनेहरु बढेका हुन्। भारतका विभिन्न सहरमा रोजगारी गरेर चाडपर्व मनाउन घर फर्कनेको संख्या बढ्दै गएपछि यतिबेला गाउँघर गुल्जार बन्न थालेको छ।

भारत लगायत मुलुकबाट चाडपर्व मनाउन स्वदेश फर्कनेहरुको संख्या दिनहुँ बढ्न थालेपछि गाउँघरमा निकै चहलपहल बढ्न थालेको स्थानीय बताउँछन्। विदेशबाट घर फर्किएका नागरिकका कारण अहिले तराईबाट पहाड जाने गाडी समेत भरिभराउ हुन थालेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यसै सिलसिलामा धान पाक्नै लाग्दा खेतीपातीको काम पनि सकिने यहाँका स्थानीय बताउँछन्। दशैँ आउन अझै धेरै समय बाँकी रहे पनि यहाँका नागरिकले आफ्ना घर पोत्ने तथा कमेरो लगाउने काम भने अहिलेदेखि नै सुरु गरिसकेका छन्। आज मात्रै कैलालीको गौरीफन्टा नाका भएर ३६३ जना स्वदेश फर्किएका छन्।

कञ्चनपुरको गड्डाचौकी नाका भएर ४० जना र बैतडीको जुलाघाट नाकाबाट ११ जना नेपाली स्वदेश फर्किएको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीको तथ्याङकले देखाएको छ। यी तीनै नाका भएर रोजगारीका सिलसिलामा भारतमा रहेका विभिन्न जिल्लाका चार सय १४ जना स्वदेश फर्किएको आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले जनाएको छ।

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस